९ आश्विन २०७९, आईतवार

एजेन्सी । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले यमनमा जारी युद्धविरामलाई लामो समयसम्म लम्ब्याउन आफूले यमनका द्वन्द्वरत समूहसमक्ष प्रस्ताव पेश गरेको बताउनुभएको छ ।

“संयुक्त राष्ट्रसंघले हाम्रो प्रस्तावमा यमनी पक्षको प्रतिक्रियाको प्रतिक्षा गरिरहेको छ,” अल जजिरा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो ।

यसमा संलग्न सबै पक्षबीच रचनात्मक सहयोगको लागि सबैपक्षलाई आफुले आग्रह गरेको र सकारात्मक जवाफ आउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अन्तिम समाधानमा पुग्ने र यमनको युद्ध अन्त्य गर्ने स्थायी युद्धविरामको आशा गर्दछौं ।”

यमनका लागि राष्ट्रसङ्घीय विशेष प्रतिनिधि ग्रुन्डबर्गले भन्नुभयो, “यमनी पक्षको राजनीतिक इच्छाशक्ति भएन भने हामी परिणाममा पुग्न सक्दैनौं र यो युद्धविराम र स्थायी शान्तिको सफलताका लागि आवश्यक छ ।”

गत हप्ता यमनको ‘प्रेसिडेन्सियल लिडरसिप काउन्सिल’ ९पीएलसी० का अध्यक्ष रशाद अल–अलिमीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामको नवीकरणलाई आफ्नो सरकारले स्वागत गरेको बताउनुभएको थियो ।

पीएलसी प्रमुखले यमनको ताइज शहरमा हुथी विद्रोहीले लगाएको घेराबन्दी फुकुवा गर्न र युद्धविरामको समयावधि लम्ब्याउन अघि बढ्न आग्रह गर्नुभएको छ ।

यमनका विमानस्थल र बन्दरगाहमा साउदी अरेबिया नेतृत्वको गठबन्धनले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सानाका हुथी विद्रोहीले युद्धविरामका लागि प्रस्तावित सबै कुराको अध्ययन गरिरहेको अल–अलिमीले बताउनुभएको छ ।

जारी युद्धविराम अप्रिल २ मा पहिलो पटक लागू भएको थियो र पछि अक्टोबर २ सम्म दुई पटक नवीकरण गरिएको थियो ।

युद्धविरामलाई धेरै हदसम्म कायम राखिए तापनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी समूहले छिटपुट सशस्त्र आक्रमणलगायत उल्लङ्घनको आरोप एक अर्कालाई लगाउँदै आएका छन् ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी मिलिसियाले उत्तरी क्षेत्रको भू–भाग आफ्नो नियन्त्रणमा लिएर साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट विस्थापित गरेपछि यमन गृहयुद्धमा फसेको थियो ।

यस युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ, ४० लाख मानिस विस्थापित भएका छन् । गृहयुद्धका कारण देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको छ ।

LIVE TV