८ आश्विन २०७९, शनिबार
  • राज दयाल,

ओखलढुंगा । पत्रकार कुम्भराज राईद्वारा लिखित ओखलढुंगा तथ्य र ईतिहास नामक पुस्तक लोर्कापण गरिएको छ । बाइलाइन मिडिया ओखलढुंगाले प्रकाशन गरेको उक्त पुस्तक आज (शनिबार) सदरमुकाममा लोर्कापण गरिएको हो ।

सिद्धिचरण नगरपालिकाको सभाहलमा भएको लोकार्पण कार्यक्रममा स्थानीय ९२ वर्षीय जेष्ठ नागरीक भैरबबहादुर श्रेष्ठले पुस्तकको लोर्कापण गरेका हुन् । १९९ पृष्ठको उक्त पुस्तकमा जिल्लाको राजनीति, ऐतिहासिक स्थल, दस्तावेज र ब्यक्ति तथा अन्तरवार्ता लगायतका विषयवस्तु समावेश गरिएको छ ।

कार्यक्रममा जिल्लास्थित समीक्षकहरुले भिन्न आकृतिमा प्रस्तुत यो पुस्तक पठनीय र संग्रह तथा अध्ययनका लागि राम्रो सन्दर्भ सामग्री बनेको बताएका छन् । कार्यक्रममा ओखलढुंगा क्याम्पसका प्राध्यापक डा. भेषनाथ खनालले राईको यो ईतिहास लेखनको सुभारम्भले जिल्लाको भाषा, साहित्य, कला, संस्कृती, पर्यटन, कृषी र अग्रजहरुले देखेका स्वर्णीम सपना के कस्ता थिए ? भविष्यको गन्तब्य पहिल्याउन ति सपनामुलक सन्देशले के कस्तो सुझाब दिन्छन ? भन्ने कुरा समेत पुस्तकले प्रष्ट पारेको बताए ।

पुस्तकमा समावेश भएका धेरैजसो सामग्रीले जिल्लाका विभिन्न तथ्यहरु सार्वजनिक गर्न नयाँ बाटो देखाएको उनको भनाइ थियो । कार्यक्रममा लेखक राईले आफूले झन्डै डेढ दशकदेखि जिल्लामा रहेर पत्रकारिता गर्ने क्रममा संकलन गरिएका थुप्रै समाचार मध्ये सामान्य टिपोर्टहरुलाई मात्र छनौट गरेर पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा धेरै नयाँ कुरा समावेश नगरिएको भन्दै राईले यो पुस्तक प्रकाशन आफ्नो तेस्रो प्रयास भएको बताए ।

पुस्तकको नयाँ कुरा भनेकै ओखलढुंगामा जन्मिएकी डाटी शेर्पाले २०१९ सालमा न्यायका लागि आफूलाई टुक्राटुक्रा बनाएर लिखु खोलामा बगाएको महिलाको बारेमा समेत सम्भवत् अहिलेसम्मकै सबैभन्दा बढी खोज पुस्तकमा पढ्न पाइने उनको भनाइ थियो । त्यसैलाई आफूले सम्पतीको रुपमा समेत लिएको भन्दै राईले यसै विषयलाई राष्ट्रिय रुपमा प्रचार गर्नुपर्छ र तत्कालीन समयमा एउटा समुदाय र जातीमाथिको सोचाई कस्तो रैछ भन्ने समेत पुस्तकमा प्रष्ट पार्न खोजिएको बताए ।

पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट हामीहरु धेरै टाढा गइसकेको भन्दै राईले पुस्तक पढेर पुस्तकमा भएका कमी कमजोरी औँल्याईदिन समेत आग्रह गरे । ईतिहासलाई साक्षीको रुपमा राखेर ईतिहासलाई टेकेर मात्रै अगाडि बढ्न सकिने भन्दै लेखक राईले उक्त पुस्तककै अर्को संस्करणलाई अझ परिमार्जित गरेर ल्याउने धारणा ब्यक्त गरे ।

कार्यक्रममा उपस्थित जिल्लाका सरोकारवालाहरुले राईलाई पुस्तक प्रकाशनको लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

LIVE TV