७ आश्विन २०७९, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एस)को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसीर ४ गतेसम्म नटिक्ने दाबी समेत गरेका छन् ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसीर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्य समेत गरे ।

आ–आफ्नो आयु अनुसार सत्तारुढ दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘एउटा सल्लाहको रुख ५० वर्षमा बढदै हुन्छ । अर्को तितेपातीको बोट तीन महिनामा बुढा भईवरी मर्छ, जन्मेको तीन महिनामा । एस पार्टी भन्ने छ नि, आजकाल । पोहोर भदौंमा जन्मियो । अहिले भदौंमा बैंस आयो । अर्को भदौं पुग्दैन । एस पार्टी । तीतेपातीको झार जस्तै हो । मान्छेले बरपीपल लगाउन चौंतारा चिनेको कसैलाई थाहा छ ? वरपीपलको लागि त चौतारो चिन्छ नै । किनभने त्यो बरपिपल सयौं वर्ष बाँच्छ । कति वर्ष बाँच्छ, बाँच्छ ? म सानो हुँदादेखिको बर–पीपल छदैँछ ।’

उनले फेरि भने, ‘त्यति लामो आयु हुन्छ । त्यसकारण चौतारो चिन्छ । अनि, एउटा तीतेपातीको लगाउनु प¥यो भने चौतारो चिन्छ कसैले । चौतारो चिन्न पाएको छैन, तितेपाती बुढो भएर मरिसक्छ । त्यसकारण गठबन्धनमा भएका पार्टीहरु जतिजति उमेरका भएपनि आयु अनुसारको बुढा हुन । बुढा पार्टीहरु । हाम्रो एमाले भनेको युवा पार्टी हो । एमाले युवा पार्टी हो । पोहोर बनेको भएपनि कुनै कुनै पार्टी बुढो पार्टी हो ।’

उनले थपे, ‘अलिक पोहोर भदौतिर तपाईहरुले सम्झनु भयो भने यस्तोमा ल्याएर राखिदियो भने यो टाठ भत्किने गरी खोस्रन्थ्यो । होक्का, होक्का गथ्र्यो । यस्तो भित्ते देख्न हुँदैन थियो । सिंगौंरी खेलेर । अहिलेसम्ममा भई खोस्रिन छोडिसक्यो । सिंगौंरी खेल्न छोडिसक्यो । लुसुलुसु परेर हिँडन थालिसकेको छ । अलिपछि हेर्नुहोला मंसीर ४ पछि । टोपी निकालेर गालामा हात राखेर बस्ने हालतमा पुग्नेछ । यो तिनीहरुको नसिवको कुरा हो । उनीहरुको भविष्य हामीले कोरिदिनु पर्दछ ।’

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरु आफैं भ्रष्टाचारी भएको आरोप लगाए । उनले सत्तारुढ दलहरुले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

 

LIVE TV