६ आश्विन २०७९, बिहीबार

काठमाडाैँ ।  राष्ट्रिय बहिरा महासंघ नेपालले यस वर्षकाे साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस धरहरामा निलाे बत्ती बालेर मनाउँदै छ। यही सेप्टेम्बर २३ गते (शुक्रबार)  परेकाे अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसकाे अवसरमा सुन्धारास्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको महासंघका अध्यक्ष केपी अधिकारीले जानकारी दिनुभयाे ।

एक विज्ञप्ती जारी गर्दै अध्यक्ष अधिकारीले भन्नुभएकाे छ, ‘बहिरा व्यक्तिहरुको पहिलो भाषाको रुपमा रहेको साङ्केतिक भाषाको विकास, बिस्तार एवं प्रवर्धनको निकै महत्व रहेको छ । बहिरा व्यक्तिहरुको क्षमता विकास, शसक्तिकरण तथा अन्य व्यक्ति सरह सबल बनाउन उनीहरुको पहिलो शर्त नै साङ्केतिक भाषा हो । तसर्थ, यस वर्ष राष्ट्रिय बहिरा महासंघले सेप्टेम्बर २३ गतेका दिन सुन्धारा, काठमाडौँ स्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको छ ।’

उहाँले शुक्रबार (असोज ७ गते) बेलुका ५:३० बजे धरहरामा निलो बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी दिँदै एक्यबद्धता सहित सम्बन्धित समुदायलाई सहभागिता जनाउन र सञ्चारमाध्यमहरूलाई समाचार संकलनका लागि उपस्थित हुन अनुराेध समेत गर्नुभएकाे छ ।

संयुक्त राष्ट्रसंघको २०१७ डिसेम्बरको २१ औं महासभाले बहिरा नागरिकहरुको संचारको माध्यम साङ्केतिक भाषाको अधिकार पहिचान गरी हरेक वर्ष सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै अाएकाे छ ।

हेर्नुहाेस् विज्ञप्तीकाे पूरा पाठ:

साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ का अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालको आह्वान

संयुक्त राष्ट्रसंघको २०१७ डिसेम्बरको २१ औं महासभाले बहिरा नागरिकहरुको संचारको माध्यम साङ्केतिक भाषाको अधिकारलाइ पहिचान गरी हरेक वर्षको सेप्टेम्बर महिनाको २३ तारीखलाई अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका रुपमा विश्वभर भव्य रुपले मनाउने प्रस्ताव पारित गरेको थियो । वार्षिक रुपमा मनाइने यस साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०२२ को लागि विश्व बहिरा महासंघले “साङ्केतिक भाषाहरुले हामीलाई एकतावद्द गर्दछन” (Sign Languages Unite Us ) भन्ने मूल नाराका साथ नेपाल लगायत विश्व भर २०० भन्दा बढी देशमा विभिन्न कार्यक्रमका साथ मनाईदैछ । १९५१ मा स्थापना भए पश्चात् विश्व बहिरा महासंघले निलो रिबन समाजमा समानता र उनीहरूको राष्ट्रिय साङ्केतिक भाषाहरूको मान्यताको लागि शताब्दीयौं देखि बहिरा समुदायहरूको कामको प्रतीकको रूपमा प्रयोग गर्ने गरेको छ |

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको, राज्यले एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि महासन्धि (UNCRPD) को अनुमोदन गरी सकेको एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन समेत जारी भइसकेको अवस्थामा बहिरा नागरिकहरुको आधारभूत अधिकार अझै पनि सुनिश्चित हुन बांकी नै छ । २०३७ सालमा काठमाण्डौं बहिरा संघको गठनबाट बहिरा समुदायको संगठनात्मक अधिकार यात्रा प्रारम्भ भएसंगै संस्थागत विकास र आवश्यकता अनुसार, २०५२ मा राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN) गठन भयो | हाल महासंघमा ५३ जिल्ला बहिरा संघ आवद्ध रहेका छन् र महासंघ अन्तर्गत ७ प्रदेश समिति गठन भई कार्यरत रहेका छन् | स्थापना कालदेखि नै बहिरा महासंघ विश्व बहिरा महासंघ (WFD) र विश्व बहिरा महासंघ एशिया प्रशान्त क्षेत्रीय सचिवालय (WFD RSA) को सदस्य रहेको छ ।

संचारमा पहुँच नै बहिरा समुदायको पहिलो सवाल हो । आवाज ग्रहण गर्न नसक्ने बहिरा समुदायले संचारका लागि साङ्केतिक भाषा प्रयोग गर्दछन् | बहिरा नागरिकहरुको पहिलो भाषा साङ्केतिक भाषाको पर्याप्त बिकास हुन सकेको छैन | बहिराहरुको पहिलो भाषा नेपाली साङ्केतिक भाषामा हालसम्म ४७०० संकेतहरु विकास गरी शब्दकोश तथा मोबाइल एप्लिकेशन प्रकाशन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि महासन्धि समितिको समेत प्राथमिकतामा परेको नेपाली साङ्केतिक भाषा अनुसन्धान तथा विकास केन्दको स्थापना एवं साङ्केतिक भाषाको विकास अझै अलपत्र परेको छ । बहिरामैत्री पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण तथा मूल्यांकन पद्धतिको विकास हुन सकेको छैन । शिक्षा, स्वास्थ्य, संचार, रोजगारी, दोभाषे सेवा, राज्यको साधनश्रोत तथा सेवा सुविधामा बहिरा नागरिकहरुको पहुंच अझै नगण्य छ । विगतमा प्रत्येक शनिवार मात्र नेपाली साङ्केतिक भाषामा समाचार प्रसारण हुदै आएकोमा महासंघको निरन्तर पहलबाट सरकारको सहयोगमा नेपाल टेलिभिजनबाट दैनिक रुपमा एकपटक नेपाली साङ्केतिक भाषामा समाचार प्रसारण सम्म मात्र पुगेको छ | बहिरा नागरिकहरुको सबै नागरिक सरह

अधिकार भएर पनि बहिरा सञ्जाल, साङ्केतिक भाषा, दोभाषे सेवा विकास र बहिरा संस्कृतिको विकासतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।

बहिरा व्यक्तिहरुको पहिलो भाषाको रुपमा रहेको साङ्केतिक भाषाको विकास, बिस्तार एवं प्रवर्धनको निकै महत्व रहेको छ | बहिरा व्यक्तिहरुको क्षमता विकास, शसक्तिकरण तथा अन्य व्यक्ति सरह सबल बनाउन उनीहरुको पहिलो शर्त नै साङ्केतिक भाषा हो | तसर्थ, यस वर्ष राष्ट्रिय बहिरा महासंघले सेप्टेम्बर २३ गतेका दिन सुन्धारा, काठमाडौँ स्थित धरहरामा निलो बत्ति बालेर बहिरा समुदायको पहिचान, समानता, बिकास तथा मान्यताको संदेश प्रवाह गर्दै मनाउन लागेको छ |

अन्त्यमा, विभिन्न अवरोह, समस्या र चुनौतीको बाबजुत नेपालमा बहिरा अपाङ्गताको क्षेत्रमा भएका कार्यहरुको लागि नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, नेपाल सरकारका केन्द्रिय देखि स्थानीय तह सम्मका निकायहरु, मानव अधिकार समुदाय, समाजसेवी, बुद्धिजीवी वर्गहरु, पत्रकार, व्यापारी, उद्योग व्यवसायी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु लगायतका सरोकारवालाहरुलाई महासंघ यस दिवसको सन्दर्भमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ | नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि महासन्धि, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन, शिक्षा ऐन लगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारहरुको अक्षरस कार्यान्वयन तथा बहिरा समावेशिता र अधिकार सुनिश्चित गर्ने प्राबधानहरू समावेश गरेर बहिरा नागरिकहरुको अधिकार प्राप्तिको अभियानमा ऐक्यबद्धता जनाईदिनुहुन सम्पूर्ण सरोकारवालाहरु समक्ष महासंघ परिवार हार्दिक आव्हान गर्दछ ।

साथै सम्पूर्ण संचारकर्मीहरुलाई मिति २०७९ असोज ७ गते दिनको ५:३० बजे धरहरामा निलो बत्ति बाल्ने कार्यक्रम रहेको हुँदा एक्यबद्धता सहित समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित भईदिनुहुन अनुरोध गर्दछु ।

२०७९ असोज ६

के.पी अधिकारी
अध्यक्ष ,राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN)
लाजिम्पाट , काठमाडौं
फोन: +977-1-4435514
इमेल : [email protected]

LIVE TV