६ आश्विन २०७९, बिहीबार
  • राम प्रसाद घिमिरे,

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका भित्रका विपन्न परिवारलाई गाउँपालिकाले स्वास्थ्य बीमा गर्न थालेको छ । ‘जनतासँग पालिका अध्यक्ष’ कार्यक्रम अन्तर्गत गाउँपालिका भरीका विपन्न वर्गलाई लक्षित गरी यो कार्यक्रम लागू गरिएको हो ।

नागरिकका लागि सहज र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्न गाउँपालिकाको पहिलो निर्णय स्वरुप घोषणा गरिएको विपन् नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

‘गाउँपालिकामा म नेतृत्वको टिम निर्वाचित भएर आएसँगै पहिलो निर्णय स्वरुप गरिएको निर्णय कार्यन्वयनका लागि हामीले कार्यविधिसमेत बनाइ सकेर कार्यन्वयनका लागि सुरुवात गरेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘यसमा जनतासँग पालिका अध्यक्ष स्वास्थ्य विमा कार्यक्रम कार्यविधि २०७९ अनुसार एकल विधवा महिला वा पुरुष, ग वर्गको अपाङ्गता भएका व्यक्ती, न्यून पोषण भएका बालबालिका, सुकुम्वासी परिवारलाई गाउँपालिकाको तर्फबाठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गरिनेछ भने महिला स्वास्थ्य स्वयंसेविकाहरुको हकमा बीमा खर्चको आधा रकम सरकारले गर्ने व्यवस्था छ । त्यस्तै आधा रकम गाउँपालिकाले व्यवस्था गरिदिने छौं ।’

आफू र आफ्नो टिमले गरेको बाचा अनुरुप ‘जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत पहिलोपटक बडिगाड गाउँपालिका–५ निवासी सरिता दमाई र दुर्गा बहादुर दमाईको स्वास्थ्य बीमा गरि अभियानको सुरुवात गरिएको हो ।

सहज स्वास्थ्य पहुँचका लागि सरकारले स्वास्थ्य बीमा लागू गरेको ४ वर्ष भएपनि विपन्नता र गरिबीका कारण धेरै नागरिक यसबाट अझै वञ्चित छन् । स्वास्थ्य बीमा गर्न नसक्ने बिपन्न नागरिकको जीवन रक्षा गर्न जनता सँग अध्यक्ष कार्यक्रम राखिएको हो । यसका साथै गाउँपालिकाभित्र विरामी भएर तथा सुत्केरीको उपचारमा समेत अध्यक्ष अधिकारी आफैंले समेत सहयोग गर्दै आएका छन् ।

LIVE TV