६ आश्विन २०७९, बिहीबार
  • आरके ढुंगाना

विद्यमान समाजको चरित्र, राजनीतिक सँस्कार, सरकार सञ्चालन विधि, नेता–कर्मचारीको प्रवृत्ति, जनताको चेतना हामीले प्रदान गरेको शिक्षाकै उपज हो भन्दा अत्युक्ति नहोला । समाज विकासको क्रमलाई अध्ययन गर्दा समाज परिवर्तनको मुख्य कारकमध्ये शिक्षा पनि एक हो । देश बनेन भनेर नेता, कार्यकर्ता, कर्मचारी, अगुवा सबैलाई गाली गर्दै गर्दा यो उत्पादन हुने कारखाना यानिकी स्कुल, क्याम्पस, विश्वविद्यालयको पुनर्संरचना, समायानुकुल सुधार र व्यवस्थित गर्ने चिन्तन र ठोस योजना कर्मकाण्डी पारामै सीमित छ । शिक्षामा सुधारको सवाल लामो समयदेखि बहसमा छ, तर हामीले जीवनोपयोगी र नवप्रवर्तन गर्ने शिक्षालाई भन्दा परीक्षामा ल्याउने प्राप्ताङ्कवाला शिक्षालाई प्राथमिकता दिँदै आएका छौँ । यसै कारण शिक्षाले आविष्कार, रुपान्तरण, स्वरोजगार, उद्यमशिलता र सभ्य समाजको परिकल्पनाभन्दा परनिर्भरता, जागिरे मानसिकता, विदेश पलायन, कर्तव्यविमुख, अधिकारप्राप्तिको तीव्र चाहनामा रुमल्यायो ।

शिक्षा क्षेत्रको चरम व्यापारीकरणको न्यूनीकरण, समयसापेक्ष पाठ्यक्रमको निर्माण, सिकाइ र परीक्षा प्रणालीमा व्यापक सुधार, रुढीवादी, अन्धविश्वास र भ्रमपूर्ण ज्ञानमा आधारित विषयवस्तुको विस्थापन र विज्ञानसम्मत विषयवस्तुमार्फत वैज्ञानिक सँस्कारको विकास, देशको बेथिति देखेर भाग्न सिकाउने शिक्षाभन्दा यसको सामना गरेर बेथितिको अन्त्यमार्फत नयाँ युगको सुरुआत गर्न सक्ने जनशक्ति विकास गर्ने शिक्षा आजको आवश्यकता हो । अब प्रमाणपत्रमुखी, स्वदेशमा भविष्य नदेख्ने, विद्यमान समस्याको सामना गर्न नसक्ने र आम समस्याको समाधान नखोज्ने शिक्षालाई विस्थापन गर्दै विशिष्ट ज्ञान, सीप, आविष्कार र समाजको सर्वाङ्गीण रुपान्तरण गर्ने जनशक्ति सिर्जना गर्ने किसिमको शिक्षालाई संस्थापन गर्न अति आवश्यक छ ।

देश किन बनेन भनेर कारण खोज्ने हो भने राम्रा भिजन भएका, समाजप्रति उत्तरदायी, फाइदा लिनभन्दा योगदान दिन खोज्ने मानिसहरू नेतृत्व तहमा नभएर वा नपुगेर हो ।

नयाँ पुस्ताको सुन्दर भविष्यको लागि बलियो जग तयार गर्न शिक्षामा सुधार पहिलो सर्त हो । १२ कक्षा पास गर्न नपाउँदै विदेशिन उत्प्रेरित गर्ने शिक्षाले कहीँ पनि पुगिँदैन । शिक्षाले शिक्षार्थीलाई सम्भावना देखाउन सकेन, स्वदेशमै केही गर्न मार्गदर्शन गर्न सकेन, विद्यमान समस्याहरूको समाधान खोज्न सिकाउन सकेन भने त्यस किसिमको शिक्षामा केही न केही समस्या अवश्य छ भन्ने बुझ्नुपर्दछ । नयाँ पुस्ता संस्कार र संस्कृतिको ज्ञानभन्दा टाढा जाँदैछ, विकृत राजनीतिलाई सफा गर्न त परै जाओस्, राजनीति त हामीले गर्ने नै होइन भन्ने मानसिकताबाट ग्रसित हुँदैछ, सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, कम्प्लेन गरेर बस्ने जमात बढ्दो छ, श्रममा सहभागी हुने र श्रमको सम्मान गर्ने परम्परा हराउँदै गएको छ, स्वयंसेवाको भावना लोप हुन लागिसक्यो । यी र यस्तै समस्याहरू हामीले देख्दै आएका छौँ । समस्याहरूमात्र देख्ने समाधान नदेख्ने प्रवृत्ति झन् खतरनाक छ । समस्या समाधान केन्द्रित शिक्षा आजको आवश्यकता पनि हो । त्यसका लागि केही सुझावहरू प्रस्तुत गरिएका छन्-

मास्टर–माइन्डहरूलाई एकीकृत गरौँ, परिचालन गरौँ ।

यो असाधारण कुरा हो । शैक्षिक क्षेत्रको रुपान्तरण मात्र नभएर समग्र देशको विकास र सुधारका लागि वेस्ट ब्रेनको प्रयोग हुन जरुरी हुन्छ । एउटा चिनिँया भनाइ छ, रुख रोप्ने सहि समय वीस वर्ष पहिले हो र त्यसपछि आज हो भनेझैँ शिक्षा क्षेत्रमा रुपान्तरण गर्न सक्ने, सकारात्मक सोच र ऊर्जा भएका मास्टरमाइण्डहरूको खाँचो छ ।

देश किन बनेन भनेर कारण खोज्ने हो भने राम्रा भिजन भएका, समाजप्रति उत्तरदायी, फाइदा लिनभन्दा योगदान दिन खोज्ने मानिसहरू नेतृत्व तहमा नभएर वा नपुगेर हो । चरम् व्यापारीकरणले गाँजिएको हाम्रो शिक्षा प्रणालीलाई बदल्न, शिक्षालाई राज्यले आधारभूत रुपमा निशुल्क गर्ने अभियानलाई सफल गराउन मास्टरमाइण्डहरू एकीकृत हुनुपर्दछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर शिक्षा क्षेत्रमा व्याप्त बेथिति, असमानता न्यूनीकरण गर्दै विश्वभर प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्ने संकल्प सहित शिक्षा क्षेत्रमा मास्टरमाइण्डहरूको जोडदार प्रवेश हुनुपर्दछ । मास्टरमाइण्डवीच बृहत संवादमार्फत शिक्षा सुधारको रणनीतिक योजना बनाएर कार्यान्वयन गरिनुपर्दछ ।

शिक्षा सुधारको गुरुयोजना तयार गरौँ, बनिसकेका योजनालाई परिष्कृत गरी कार्यान्यवन गरौँ

शिक्षा क्षेत्र सुधारका लागि विभिन्न योजना बनेका छन्, कतिपय योजना बन्ने क्रममा छन् भने कति कार्यान्वयवनमा छन् । यहाँ प्राय आरोप के लाग्छ भने नीति राम्रै बनाइन्छ तर त्यसको कार्यान्वयन प्रभावकारी रुपमा गरिदैन् । विगतमा गरिएका राम्रा अभ्यासहरूलाई निरन्तरता दिदैँ कार्यान्वयनमा रहेको योजनालाई परिष्कृत गरी कार्यान्वयन गर्नु आजको पहिलो प्राथमिकता हो । यसको अलावा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको अग्रसरतामा के, कसरी, किन, कहिले, कस्ले, कहाँ र कुन जस्ता प्रश्नहरूको व्यवस्थित र कायान्वयनमुखी उत्तरसहितको कम्तिमा १० वर्षे मास्टरप्लान अर्थात गुरुयोजना बनाउनुपर्दछ ।

दीर्घकालिन सोच, ध्येय, लक्ष्य उद्धेश्य, मूख्य कार्यक्रम, नीति, रणनीति, कार्यनीति सहितको योजना निर्माण गरिनुपर्दछ । शिक्षा सुधारको गुरुयोजना बनाउनु अगाडि विद्यमान समस्याहरूको कारणमाथि बहस गर्नु जरुरी हुन्छ । १ वर्ष, २ वर्ष, ३ वर्ष हुदैँ ५, १० वर्षमा के प्राप्त गर्ने हो त्यसको एकीकृत कार्ययोजना, कार्ययोजना कार्यान्यनका लागि आवश्यक भौतिक, मानवीय, आर्थिक स्रोत, साधनसहितको विस्तृत शिक्षा सुधार गुरुयोजना तयार गरेर जान सक्दा क्रमिक रुपमा शिक्षामा सुधार देखिनेछ ।

स्मार्ट व्यवस्थापनमा ध्यान दिऔँ, स्रोत, साधन र जनशक्ति परिचालन र बजारीकरणमा नचुकौँ

सामुदायिक र नीजि विद्यालयका वीचमा ठूलो खाडल छ, त्यो झन् झाँगिदो छ भनिन्छ । सामुदायिक र नीजि विद्यालयमा गुणस्तर र परिणाममा देखिने भिन्नताको विविध कारणमध्ये व्यवस्थापकीय पक्ष पनि एक हो । हामी भएका स्रोत, साधन, जनशक्तिको सहि व्यवस्थापन र परिचालनमा ध्यान दिदैँनौ अनि नभएको चिज खोजेर बस्छौँ ।

शिक्षालयहरूको संचालन, व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञानको कमी, स्रोतको पहिचानमा देखिने कमजोरी, भौतिक–आर्थिक–मानवीय स्रोतको सहि ठाउँमा सहि तरिकाले परिचालन गर्न नसक्नु जस्ता समस्याले शिक्षाको सुधारलाई अवरोध गरिरहेको छ । यस किसिमको समस्याको समाधान गर्ने उपायहरूमध्ये निरन्तर रुपमा व्यवहारिक र समस्याको समाधानकेन्द्रीत तालिम संचालन, सही ढंगले व्यवस्थापन, परिचालन भए नभएको अनुगमन मूल्याङ्कन, दण्ड पुरस्कारको व्यवस्था, स्थानीय सरकारको ठोस योजनासहितको सक्रियता, प्रविधिमैत्री प्रणालीको विकास र विस्तार, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राखेको पाठ्यक्रम निर्माण आदि मुख्य हुन् ।

वैज्ञानिक पद्धति/संस्कार निर्माणलाई केन्द्रमा राखौँ, नकारात्मक मानसिकता परिवर्तन गरौँ

नेपालको शिक्षाको आम प्रचलित मोडेल अव पुरानो भइसक्यो । चक डस्टर वा मार्कर वोर्डमा अति विश्वास गर्ने, एकोहोरो दिनुलाई मात्र शिक्षण मान्ने, तीन वा चार घण्टे परीक्षालाई मात्र मूल्याङ्कन ठान्ने, पाठ्यक्रम भन्दा कितावलाई पढाउन जान्ने मोडेलबाट ठुलो अपेक्षा गर्न सकिदैँन् । पाठ्यक्रममा जीवन खोजौँ, जीवनलाई पाठ्यक्रममा समावेश गरौँ । के सिक्न अति जरुरी छ, चेक लिस्ट बनाऔँ, विषयवस्तुभित्रका सैद्धान्तिक र व्यवहारिक पाटोलाई ३०ः७० को अनुपातमा सिकाइ व्यवस्थापन गरौँ ।

निरन्तर मूल्याङ्कन प्रणालीलाई थप व्यवहारिक र समयसापेक्ष बनाऔँ । समय, स्थान र व्यक्तिको विशिष्टताको आधारमा स्थानिय पाठ्यक्रमलाई पनि परिस्कृत र उपयोगी बनाऔँ ।

यी सबै गर्न सर्वप्रथम ठोस अनुसन्धानको आवश्यकता छ । त्यसका लागि विश्वविद्यालयमा हुने स्नातक वा मास्टर डिग्रीका शोधहरूमा भविष्यको आवश्यकतालाई समेट्ने किसिमले खोज गर्न प्रोत्साहित गर्नुपर्दछ । विज्ञहरूको छुट्टै थिङ्क ट्याङ्क बनाइ निरन्तर अपडेटका लागि मार्ग प्रशस्त गर्नुपर्दछ । निरन्तर खोजि,अन्वेषण र आविष्कारलाई आत्मसाथ गर्दै शिक्षामा आमुल परिवर्तनको मास्टरप्लान बनाइ कार्यान्वयनको ठोस मार्गचित्र तय गर्दा मात्र भविष्यलाई सुन्दर बनाउने शिक्षालाई अवलम्बन गर्ने वातावरण तयार हुन्छ ।

अबको मार्गचित्र

शिक्षा प्रणाली भित्रको लर्निङ्गको प्याराडाइज्म सिफ्टलाई आत्मसाथ गरी परम्परागत, यथास्थितिको पक्षपोषण गर्ने र आउटडेटेड शिक्षण सिकाइ प्रक्रियालाई परिवर्तन गर्दै उत्पादनलाई प्राथमिकतामा राखि शिक्षाको आधुनिकता र हाम्रो मौलिकताको प्रर्वद्धनमा सवैको ध्यान जानु पर्दछ । विगतमा जे भए पनि अवका दिनमा बालबालिकालाई जीवन जिउने सीप सिकाउने, उ भित्र रहेको क्षमतालाई उजागर गर्ने, म संग क्षमता छ, म केही गर्न सक्छु भन्ने आत्मविश्वास जगाउने, मेरो योगदान समाज र राष्ट्रलाई हुन्छ भन्ने भावना जागृत गर्ने, समालोचनात्मक चिन्तन विकास गराउने र यस्ता सीप र क्षमताहरू विद्यालयमा मात्र होइन घरमा पनि विकास गराउने वातावरण वनाउनुपर्दछ ।

बालबालिकामा श्रममा सहभागी हुने र श्रमप्रति सम्मान गर्ने, वैज्ञानिक सोच, समालोचनात्मक चिन्तन विकास गराउने, पूर्व धारणा विना स्वतन्त्र र तठस्थ तरिकाले कुनै कुरालाई हेर्न, सोच्न, विश्लेषण गर्न र केलाउन सक्ने बनाउने किसिमले हाम्रा सोच, अनुसन्धान र तयारी अगाडि बढाउनुपर्दछ ।

भर्चुअल क्लास, भर्चुअल स्कुल र भर्चुअल युनिभर्सिटी जस्ता नवीनतम प्रविधिलाई शिक्षा नीति, योजना तथा कार्यक्रमबाट उचित सम्बोधनका लागि पर्याप्त बजेट तर्जुमा गर्न जरुरी छ ।

पूर्वाधारको तयारी नगरि हामीले प्रविधीको उच्चतम अभ्यास गर्न सक्दैनौ । त्यसैले भर्चुअल क्लास, भर्चुअल स्कुल र भर्चुअल युनिभर्सिटी जस्ता नवीनतम प्रविधिलाई शिक्षा नीति, योजना तथा कार्यक्रमबाट उचित सम्बोधनका लागि पर्याप्त बजेट तर्जुमा गर्न जरुरी छ । शिक्षा क्षेत्रको प्राथमिकताको तय, शिक्षणका माध्यम, वितरण प्रणाली, विद्यालय शिक्षामा पूर्ननिर्माण र पूर्नगठनकाको विषयमा गहन बहसको सुरु गर्नुपर्दछ । आवश्यकता अनुसार मर्जरको नीतिलाई जोड दिने, परीक्षामुखी तथा निर्वाहमुखी शिक्षालाई कर्ममुखी र व्यवहारिक बनाउन पाठ्यक्रमलाई आमुल परिवर्तन गर्नुपर्दछ ।

घोकन्ते विद्या, चकडस्टर मोडेल तथा फेस टू फेस शिक्षण पद्धतिको विकल्पमा नगई शिक्षामा क्रमभङ्ग हुन सक्दैन् । त्यसैले पुरातन तथा निस्प्रभावी शिक्षणसिकाइलाई परिवर्तन गरी प्रविधिमैत्री सिकाइका लागि सबल संयन्त्र तथा जनशक्तिको क्षमता विकास गर्नेतर्फ ध्यान केन्द्रीत गर्दै शिक्षामा नवीनतम प्रणालीलाई प्रोत्साहन गर्नुपर्दछ ।

भत्ता र समय कटाउने तर सीप विकासलाई शिक्षण क्रियाकलापमा जोड्न नसक्ने तालिमका कमजोरीलाई सुधार गरी समयको गतिसँगै शिक्षकहरूको पेशागत विकास गर्ने कार्यान्वयनमुखी तालिमको ढाँचा तयार गरि हाल चलिरहेका विभिन्न तालिमका मोडललाई रिफ्रेमिङ र रिस्ट्रक्चरिङ गरौँ ।

कुनै पनि संकट आजमात्र होइन् भोलि पनि आउन सक्छ, त्यसैले शिक्षा प्रणालीभित्र प्रोएक्टिभ ढङ्गले आफ्नो क्षेत्रको जोखिम पहिचान गर्न सक्ने मानव संसाधन उत्पादन र प्रभावकारी संयन्त्रको संस्थागत विकासका लागि रणनीति, कार्यक्रम र कार्यान्वयनमा जोड दिऔँ । शिक्षा क्षेत्रको जोखिमको पहिचान, प्रभाव विश्लेषण , जोखिम आङ्कलन गर्दै सवैको सहभागीतामा आगामी बाटो तय गरौँ । शैक्षिक जोखिम व्यवस्थापनमा जोखिम न्यूनीकरण योजना, सबल प्रतिकार्य योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा जोड गरौँ । नयाँ कामका लागि जहाँ पनि उत्प्रेरणाको खाँचो पर्दछ । त्यसैले लगनशील विद्यार्थी, समर्पित र तालिम प्राप्त शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायी अभिभावक र प्राज्ञिक वातावरणलाई अझ धेरै उत्प्रेरित गरौँ ।

राज्यका सवै क्षेत्र र अङ्गमा पूर्ण गुणस्तर व्यवस्थापनको विश्वव्यापी मान्यता र अभ्यासको अध्ययन गरि कार्यान्वयन गरौँ । शिक्षा क्षेत्रको प्राथमिकता र लगानी लाई जोखिम मैत्री बनाउदै नवप्रवद्र्धन र उत्पादन तथा राष्ट्रिय पूँजीको वृद्धि र विकास गर्ने गरि वातावरण बनाउन तर्फ जोड गरौँ । केन्द्र सरकार, प्रदेश सरकार, स्थानिय निकाय, सवै विश्वविद्यालय, नीजि तथा सामुदायिक विद्यालय तथा सरोकारवाला निकायहरूले शिक्षण सिकाइ प्रक्रिया, मूल्याङ्कन विधि, प्रविधि उपयोग गर्ने शैलिमा विकल्पको खोजि गरि ठोस कार्यक्रम, योजना र कार्यान्वयनमा जाँदा मात्र हाम्रो समृद्धिको आकांक्षा सहितको भविष्य निर्माण हुन सक्छ ।

LIVE TV