६ आश्विन २०७९, बिहीबार

काठमाडाैँ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालको ७१ औं स्थापना दिवस सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सङ्घका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ४ जना स्रष्टालाई प्रलेस पुरस्कारबाट सम्मानित गरिएकाे थियाे । साे अवसरमा प्रलेस श्यामप्रसाद पुरस्कारबाट पदमप्रसाद शर्मा (दाङ), प्रलेस प्रतिभा पुरस्कारबाट रामप्रकाश पुरी (पश्चिम रुकुम), प्रलेस मित्र बालसाहित्य पुरस्कारबाट शशिकिरण रेग्मी ‘रह शर्मा’ (चितवन) र प्रलेस युवा प्रतिभा पुरस्कारबाट कवि राजेन्द्र तारकिणी (बैतडी) लाई सम्मानित गरिएको हाे ।

प्रलेस महासचिव डा. देवी क्षेत्री दुलालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रलेस उपाध्यक्ष समीर सिंहले पुरस्कृत चारैजना स्रष्टाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियोे । प्रलेसका उप-महासचिव बालमुकुन्द कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

यसैगरी कार्यक्रममा प्रलेसको वेबसाइट उद्घाटन समेत गरिएकाे थियाे भने ‘प्रलेस’ पत्रिकाको २७ औं अङ्क र साहित्यकार शिव के. श्रेष्ठद्वारा लिखित ‘रम्बास कविता सङ्ग्रह’को विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको विशेष आतिथ्यता रहेको थियाे भने प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. जगतप्रसाद उपाध्याय, पूर्व-सदस्यसचिव तथा प्रलेसका पूर्व अध्यक्ष प्रा.डा. जिवेन्द्रदेव गिरी, साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी, भाषा आयोगका सदस्य तथा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल , प्राज्ञ प्रा. डा. हेमनाथ पौडेल , प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेल, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ डा. देवी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, साहित्यकार तथा प्रलेसका सल्लाहकार डा. पुष्करराज भट्ट, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदी, रक्तिम सांस्कृतिक परिवारका मधु क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

LIVE TV