३ आश्विन २०७९, सोमबार

काठमाडौं । पछिल्लो समय डेंगुका बिरामी ह्वात्तै बढेका छन् । गर्मी समयपछि जाडो समयको आगमन भएपनि डेंगु संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । विशेषगरी काठमाडौं उपत्यकामा डेंगु संक्रमितको संख्या बढ्दो छ र अस्पताल डेंगुका बिरामीले भरिएका छन् ।

डेंगु सङ्क्रमित बिरामीको संख्या बढेसँगै प्लेटलेटयुक्त प्लाज्मा र प्लेटलेट कन्सेन्ट्रटको माग आपूर्तिभन्दा बढेको छ । ब्लड बैंकमा पनि रगतको आपूर्ति अभाव भएको बताइएको छ । तर, जनताको स्वास्थ्यमाथि चनाखो हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने नेपालमा डेंगुलाई महामारीको रुपमा मात्र घोषणा गर्ने काम गरिरहेको छ ।

हाल देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेङ्गुको सङ्क्रमण रहेको छ भने साढे १६ हजारभन्दा बढीमा डेंगु संक्रमण र डेंगुबाट २० जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा डेंगुबाट यति धेरै मानिसको मृत्यु भएको यो पहिलो पटक हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुको संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत ४० वर्ष मुनिका छन् । साथै, १२ वर्ष मुनिका कम्तीमा चार बालबालिकाको संक्रमणबाट मृत्यु भएको छ ।

डेंगु संक्रमितहरुमा हल्का ज्वरोपछि उच्च ज्वरो, मांसपेशीमा कडा दुखाई, दाग, कडा टाउको दुख्ने, आँखा दुख्ने गर्छ ।

LIVE TV