३१ भाद्र २०७९, शुक्रबार

बेलायतको सम्पूर्ण नेपाली तीन सय भन्दा बढी संघ संस्थाको छाता संगठन भनेर चिनिने एनआरएनए यूके केहि समयबाट आफै विवादित बनेको देखिएको छ । एनआरएनएका अग्रज अभियन्ताहरुले नै व्यक्तिगत र राजनैतिक स्वार्थका लागि संस्थालाई प्रयोग गरिरहेका पाइएको कारण विवादित देखिएको हो ।

अधिकांश जनजाती आदिवासी र भूपू गोर्खाको बसोबास रहेको बेलायतमा एनआरएनए यूकेको नेतृत्वमा भूपू गोर्खाहरुले चासो देखाउनु र नेतृत्व लिन थालेपछि दुई चार जना अभियन्ताहरुले नेतृत्वलाई आफ्नो हातमा लिन लागि परेको देखिएको छ । सत्य तर तीतो बोल्नेहरुलाई आफ्नो मिठो कुरामा बिश्वास गर्ने बनाएर समुदायमा पनि फाटो ल्याउने काम गरेका छन् ।

आफ्नो स्वार्थका लागि कति गर्न सक्छन् ? भन्ने ज्वलन्त उदाहरण त एनआरएनए यूकेका पूर्व अध्यक्ष कुल आचार्य नै छन् । जसले आईसीसीको अध्यक्ष बन्ने लोभमा एनआरएनए यूकेलाई आफ्नो मान्छेहरु महाअधिवेशनमा प्रतिनिधि पठाउन नपाएको निहुँमा लेभी पठाउन दिएनन् ।

जब आफू अध्यक्ष बनेको दाबी गर्दै आए त्यसपछि आफ्नो आठ महिनाको कार्यकालको काम देखाउन लेभी पठाउने स्वार्थमा विभिन्न लोभ देखाएर अध्यक्षको बिरोधमा कार्यसमितिमा विवाद बढाएर आफू आईसीसी अध्यक्ष भएको हैसियत देखाएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जातीय गन्ध आउने गरी च्यारिटेबल संस्थामा राजनैतिक खेल खेल्ने र आदिवासीहरुलाई झुक्याउने, दुःख दिने परम्परागत शैली बेलायतमा अझै टड्कारोको रुपमा देखिएको गुनासो गरेका छन् ।

उनले भनेका छन्, ‘बेलायतको समाजले छर्लंग देखेको छ र हामीले देखेको पनि यहि हो कि आफ्नो काम देखाउन कुल आचार्यले लेभी पठाउने काम गरेका छन् । र जसको कारण एनआरएनए यूकेमा फुटको बिउ रोप्ने काम भएका छन् । तर, एनआरएनए यूके च्यारिटीमा दर्ता भएको र केन्द्रको विधि विधान अनुसार चल्नुपर्ने बाध्यता नभएको विधानको धारा रट्ने वकिल भनाउदा विद्वानहरुले बुझेरपनि संस्थाको हितको विपरित अध्यक्ष हटाएर आफू अध्यक्ष हुने दाउमा लागेका छन् ।’

अध्यक्ष शेर्पाले थपे, ‘यस्ता अभियन्ताहरुका अवैधानिक र स्वार्थी क्रियाकलापले एनआरएनएलाई नेपाल बाहिर बस्ने नेपालीहरुको साझा संस्था भनेर विश्वास गर्न गार्हो भएको छ । सदियौंबाट आदिवासीहरुले भोगेका र उठाएका मुद्दाहरुमा केही सुधार आएको छैन । हाम्रो समाजले एक्काइसौं शताब्दीमा आइपुग्दा पनि जनजाती आदिवासीको अस्तित्वलाई गौण मानेको छ र आदिवासीहरु पुरातन वादीहरुको स्वार्थका लागि प्रयोग भइरहेका छन् । यसको एउटा उदाहरणको रुपमा एनआरएनए अग्र पंक्तिमा रहेको कुरा छर्लंग छ ।’

LIVE TV