३० भाद्र २०७९, बिहीबार
  • महेश्वर के.सी.

काठमाडौं । काठमाडौं महानगरको कार्यालय अगाडि जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले विरोध प्रदर्शन गरेको छ । महानगरले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै संघले बिहीबार प्रर्दशन गरेको हो ।

सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका थिए । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ ।

महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको संघको भनाइ छ । महानगरले ठेला व्यवसाय गरिरहेकाहरुलाई व्यवस्थापनभन्दा पनि विस्थापन मात्रै गर्न खोजेको संघको आरोप छ ।

उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएका हुन् ।

 

 

LIVE TV