११ भाद्र २०७९, शनिबार
  • सविना राउत

जोसँग जे छैन, सबैभन्दा महत्वपूर्ण त्यही हुँदोरहेछ । आजको रात र म उस्ताउस्तै लाग्छ । आजको रातसँग जून छैन । मसँग आकाश छैन ।

फरक यति हो- रातको लागि १५ दिनमा एकपटक पूर्णिमा आउँछ । तर, मेरो लागि आकाश फेरि कहिल्यै छानो बन्ने छैन । आभास भने सधैँ भइरहनेछ ।

हामीले भन्ने गरेका छौँ- आमाबुबा भनेको धर्तीआकाश हुन् । आमा, धर्ती । बुबा, आकाश ।

आज आकाशको मुख हेर्ने दिन अर्थात् बुबाको मुख हेर्ने दिन । कुसे औँसी ।

हुन त बुबा (ड्याडी)लाई नसम्झिएको दिन छैन । उहाँ सधैँ मन र मानसपटलमा हुनुहुन्छ । तर, आजको दिन बुबाको सबैभन्दा बढी सम्झना आउँदोरहेछ ।

आज अरुले बुबाको मुख हेर्छन्, म तस्बिर… । अरुले बुबासँग दुःख बाँड्छन्, म शब्द… ।

बुबाबारे लेख्न सजिलो छैन । झन् उहाँको मृत्युबारे… । मृत्यु शब्दले पनि औधी पीडा दिन्छ ।

मृत्यु स्वभाविक हो । र, शाश्वत सत्य पनि । तर, सत्य सबै स्वीकार्न मन नमान्दो रहेछ । फेरि स्वीकार नगरी पनि सुख छैन । बुबाको मृत्यु पनि स्वीकार नगरी धर छैन । उहाँको मृत्यु मनले अस्वीकार गर्दागर्दै पनि स्वीकारेकी हुँ । यही हो मान्छेको नियति ।

आफ्नो प्रिय मान्छे गुमाउँदको पीडा…. । मुखले मृत्यु जति सजिालोसँग उच्चारण गर्छ, मनलाई त्यति नै भारी हुने । दुई अक्षरको शब्द, दुई क्विन्टलभन्दा पनि भारीजस्तो ।

गुमाउनु सजिलो छँदै छैन । बुबा होस् या अरु जुनसुकै प्रिय मान्छे । गाह्रोमध्येको सबैभन्दा गाह्रो रहेछ- बुबा गुमाउनु ।

त्यो कालो रात

०७० साल, जुन बेला ड्याडीलाई लिभर सिरोहसिस र हेपाटाइटिस बी भएको पुष्टि भएको थियो । त्यो बेला नै डाक्टरले उहाँ अब दुई वर्ष मात्रै बाँच्नुहुन्छ भनेका थिए ।

बिरामी हुँदा हरेक रात भगवानसँग प्रार्थना गर्थें- ‘बरु मेरो आयु पनि बुबालाई थपिदिनू ।’ सायद भगवानको बसमै नभएको होला त्यो पुरा हुनसकेन ।

तर, हाम्रो मायाको अगाडि डाक्टरले पनि फेल खाए । डाक्टरले भनेको भन्दा तीन वर्ष बढी बचायौँ । अझै पनि उहाँले हाम्रो निगरानी राखिराख्नु भएको आभास हुन्छ ।

०७५ साउन १४ गते । त्यो दिन आजसम्मकै सबैभन्दा दर्दनाक दिन थियो हाम्रा लागि । त्यस दिन ममी (आमा) र ड्याडी (बुबा) मात्र घरमा हुनुन्थ्यो । बुबालाई एकदमै गाह्रो भइसकेको रहेछ । ममीले आत्तिँदै फोन गर्नुभयो । म केही समयपछि घर पुगेँ ।

ममीको अनुहारले नै बताइरहेको थियो- अब ड्याडीसँगको समय धेरै छैन । ममी ड्याडीलाई अस्पताल लैजान हतारिँदै हुनुहुन्थ्यो । तर, कहाँ लाने ? कुन अस्पताल लाने ? अन्योलमै हुनुहुन्थ्यो ।

ड्याडीलाई पाँच वर्षदेखि जुन अस्पतालमा राखेका थियौँ, त्यो अस्पतालको सबै औषधिले काम नगर्ने भइसकेको थियो । अस्पतालले हार खाएर रेफर लेटर दिइसकेको थियो ।

भाग्यमा जे लेखेको छ, त्यो भोग्नैपर्ने ! तीन दिदीबहिनी मिलेर बुबाको अन्त्येष्टि गार्यौँ। दागबत्ती मैले दिएँ । मेरो हातबाट सल्किएको आगोले बुबाको पार्थिव शरीर मात्रै जलिरहेको थिएन, आमाको सिन्दुर, पोते, चुरासँगै जीवनसाथी जलिरहेको थियो । हाम्रो संरक्षक, मार्गदर्शक, प्रशिक्षक या भनौँ छहारी जलिरहेको थियो ।

सोही राति ड्याडीलाई एनएमसी अस्पताल लग्यौँ । मनमा अनेकौं कुरा बयेलीखेल्दै थिए । एउटा मनले अर्को मनलाई प्रश्न गरिरहेको थियो- अब ड्याडी हामीसँगै फर्किनुहुन्छ ? उत्तर दिने मन मौन बस्यो । मनलाई भारी भयो ।

महसुस गरिरहेकी थिएँ, ड्याडीलाई सास फेर्न गाह्रो भइरहको छ । ड्याडीको अनुहारमा घोरिँदै घोरिँदै अस्पताल पुग्यौँ । इमर्जेन्सी कक्षमा लग्यौँ । नर्सहरुले हत्तपत्त बेडमा राखे । बेडमा राख्नसाथ ड्याडी केही भन्दै खोज्दै हुनुहुन्थ्यो । तर, त्यहाँ न ममीको लागि आवाज थियो न त आफ्ना छोरीहरुको लागि ।

केवल, ‘फोन लगा फोन लगा’ मात्रै भन्दै हुनुहुन्थ्यो । ममीले कसलाई भनेर सोध्नुभयो । उहाँले तीनपटक एकजना आफन्तको नाम लिनुभयो ।

फोन लाग्यो । तर, बुबाको बोली बन्द भयो । ती आफन्तलाई बुबाले फोन गर्न लगाउनुको कारण अझै रहस्यम नै छ ।

अहिले पनि त्यही कुरा मनमा खड्किन्छ- त्यो बेला ममीको नाम लिइदिनुभएको भए ! सँगै उभिएकी छोरीलाई ‘सोविना’ भनेर बोलाइदिनु भएको भए !

नर्सहरुले अक्सिजन मास्क लगाइदिए । बिपी मेजर गर्ने मेसिन, युरिन ब्याग, ड्राइपर सबै लगाइदिँदै थिए ।

म ब्लड टेष्ट गर्न, औषधि ल्याउन दौडिरहेकी थिएँ । म पनि ढल्ने अवस्थामा पुगिसकेको रैछु । खाना नखाएको कति भएको थियो, पत्तै थिएन । ड्याडीभन्दा ठूलो सवाल खानुमा पनि भएन !

नर्सहरुले कराएपछि जीवनजल र सुप खाएँ । जसोतसो ड्याडीसामु पुगेँ ।

त्यसअघि । विपी मेजर मेसिन, युरीन ब्याग, ड्राइपर केही लगाउनु परेको थिएन । त्यो लगाएको देख्दा मनमा चिसो पसिसकेको थियो ।

डक्टरले समय नभएको संकेत गर्दै थिए । ‘भेन्टिलेटरमा राख्नुहुन्छ कि हाइकेयरमा ?’- डाक्टरले सोध्यो । भारी मनले ‘हाइकेयरमा’ भनेँ ।

ड्याडीलाई हाइकेयरमा राख्यौँ । ममी र बहिनीलाई घर पठायौँ । म र ठूलो मामा कुरुवा बस्यौँ ।

मनमा अनेक कुरा खेलिरहेको थियो । ड्याडी लामो-लामो सास लिँदै, खुट्टा तलमाथि सार्दै हुनुन्थ्यो । म निरीह हेरेर बसिरहेँ ।

अस्पतालको बसाइँ अरु बेलाको भन्दा निकै भिन्न थियो । अरु बेला लाग्थ्यो- भोलि कहिले हुन्छ । तर त्यो बेला यस्तो लाग्थ्यो- कास, यो समय रोकिए पनि हुन्थ्यो ! भोलि नभइदिएपनि हुन्थ्यो !

मनमा यस्तै कुराहरु खेलिरहेको थियो । ड्याडीले आफ्नो खुट्टा सर्लक्क छाड्नु्भयो ।

सोचेँ- अघि धेरै गाह्रो भएर छट्पटिनुभएको रहेछ, अहिले अलि बिसेक हुनुभएछ । खुट्टा सजिलोसँग राख्नुभयो ।

‘भान्जी, ल ड्याडी त जानुभयो,’- मामाले हठात् आत्तिँदै भन्नुभयो ।

म झस्याङ्ग भएँ ।

मामाले थप्नुभयो- ‘म सबैलाई फोन गर्छु ।’

मेरो बोली नै फुटेन । मुन्टो मात्रै हल्लाएँ ।

बुबालाई कुर्न बसेकी म । तर, उहाँको मृत्युलाई पो कुरिरहेकी रहेछु । म बुबालाई सजिलो भयो भनेर सौच्दै थिएँ । तर, उहाँले हामीलाई गाह्रो बनाएर गइसक्नु भएछ !

बुबा र म

भक्कानिनु र चिच्याउनुबाहेक मसँग कुनै विकल्प थिएन । बुबालाई छोएँ । उहाँ त हिउँजस्तै भइसक्नु भएको रहेछ । अब हिउँ बाफ बनेर उड्छ, माथिमाथि जान्छ ।

स्वास्थ्यकर्मी आएर कति बजे बित्नुभयो ? साक्षी को ? भन्दै प्रश्न गर्न थाले । अनि शवलाई निकाल्नुपर्छ भन्दै मृत्यु प्रमाणपत्रमा हस्तक्षर गर्न लगाए ।

स्वास्थ्यकर्मीको त्यो कलम, सर्पले गरुड देखेजस्तै भयो मेरो हातको लागि । हात लल्याकलुलुक भयो । बल्लतल्त हस्तक्षर गरेँ ।

केही समयपछि बहिनी र ममी आइपुग्नुभयो । उहाँहरुसँग आँखा जुधाउने हिम्मत भएन । बुबालाई बचाउँछु भनेर अस्पतालमा बसेकी म, उहाँ नै नरहेपछि कुन अनुहार देखाऊँ !

गुमेको संसार

२०७५ साउन १५ गते बिहान । बुबाको शव लिएर अन्त्येष्टिका लागि पशुपतिको गेटमा छिरेका मात्रै थियौँ, निकै करुणादायी रुवाइ सुनेँ । मैले आँसु पुछ्दै हेरेँ । आफ्नै दिदी पो हुनुहुँदो रहेछ ।

सुखमा त सबैले साथ दिन्छन्, तर दुःखमा आफ्ना मात्रै हुन्छन् भन्थे । हो रहेछ । ६ वर्षदेखि टाढा रहनुभएकी दिदी आँसुमा साथ दिन आइपुग्नुभएछ । साथ त दिन आइपुग्नुभयो तर उहाँको पीडा हेर्न सकिनँ ।

यदि बुबालाई बचाउन सकेको भए दिदीलाई देख्नासाथ खुशीले अंकमाल गर्थें हुँला ! के-के ल्याइदिनुभो भनेर सोध्थेँ हुँला !

तर, बुबा बचाउन नसक्नु मेरै दोषजस्तो लाग्यो । दिदीको अगाडि जाने साहस जुटेन । कसरी आइपुग्नुभयो भनेर सोध्ने हिम्मत पनि आएन ।

यत्रो वर्ष दिदीले विदेशमा दिनरात नभनी कमाएको, खाईनखाई जोगाएको सबै बुबाकै उपचारमा खर्चिएका थियौँ । बुबा बचाउन आफ्नो भोक, प्यास, निन्द्रा मार्नु हुने दिदीलाई बुबा नै मरेको देख्दा कस्तो भयो होला ? त्यो कल्पना पनि गर्न सक्दिनँ ।

ममीको हालत कस्तो थियो भन्ने त कुरै नगरौँ । बहिनीको पनि उस्तै थियो । मेरो कस्तो थियो खै, आफैँलाई थाहा छैन ।

भाग्यमा जे लेखेको छ, त्यो भोग्नैपर्ने ! तीन दिदीबहिनी मिलेर बुबाको अन्त्येष्टि गर्यौँ । दागबती मैले दिएँ । मेरो हातबाट सल्किएको आगोले बुबाको मृत शरीर मात्रै जलिरहेको थिएन, आमाको सिन्दुर, पोते, चुरासँगै जीवनसाथी जलिरहेको थियो । तीन दिदीबहिनीको संरक्षक, मार्गदर्शक, प्रशिक्षक, सिपाही या भनौँ सिंगो छहारी जलिरहेको थियो ।

संसारले एउटा मान्छे गुमाएको थियो । तर हामीले सिंगो संसार गुमाएका थियौँ ।

चकचके सम्झनाहरु

म सानो छँदा बुबासँगै झुमिन्थेँ । जता जाँदा पनि पछ्याउथेँ । बुबा भएपछि अरुकेही चाहिँदैनथ्यो । ममीले बारम्बार सुनाइरहने एउटा किस्सा सम्झिँदा अहिले पनि लाज लाग्छ । सानोमा ड्याडीसँगै बिहे गर्छु भन्थेँ रे !

नाच्न असाध्यै रुचाउने म । बुबाले क्यासेटमा नाच्ने गीत भरेर ल्यादिनु हुन्थ्यो । फरर परेको घांघरा पनि ल्याइदिनु हुन्थ्यो । उहाँ कामबाट आउनसाथ त्यही घांघरा लगाएर नाच्न थाल्थेँ ।

बुबालाई डान्स देखाउँदै सानी म

मेरो मुहार बुबासँग मिल्थ्यो रे ! सानो छँदा बुबासँग घुम्न निस्कँदा हामीलाई देख्नेहरू त्यसै भन्थे । मलाई देख्नेहरू बुबालाई सोध्थे । प्वाक्क प्रश्न गर्नेहरूतिर म ट्वाल्ल पर्दै हेर्थें तर मौन बस्थेँ । जवाफको जिम्मा बुबालाई नै हुन्थ्यो ।

बुबाको चोरी औंला समातेर हिँडेको झल्झली याद आउँछ । काँधमा बोकेर डुलाएको दृश्य मानसपटलमा आजीवन कैद छ ।

सानैदेखि चकचके थिएँ रे । चकचके भएपछि चोटपटक लाग्ने नै भयो । म लड्दा उहाँले आफ्नो सर्ट च्यातेर बाँधिदिनु हुन्थ्यो ।

त्यसैले पनि उहाँलाई मेरो भविष्यबारे खुव चिन्ता थियो । हाम्रा लागि सकेजति, जानेजति उहाँले सबै गनुभयो । बाँकी केही राख्नुभएन ।

मेरो स्कुलको फिस तिर्न उहाँले आफ्नो मोबाइल समेत बेच्नुभएको थियो । यो म जिन्दगीमा कहिल्यै बिर्सन्नँ । झन जिम्मेवारी काँधमा आएपछि महत्व बुझिँदो रहेछ ।

अधुरो सपना

सपना थियो- जागिर खाएर बुबालाई एउटा मोबाइल किनिदिने । स्कुटर किनेर पछाडि राखेर घुमाउने । बुबाको चोरी औँला समातेर पुगेको हरेक ठाउँमा उहाँलाई पुर्याउने ।

अहिले स्कुटर छ । एउटा मोबाइल किन्ने हैसियत पनि छ । तर, दुःखको कुरा बुबा नै हुनुहुन्न । सपना अधुरै रह्यो ।

विलियम शेक्सपियरले भनेजस्तो बुबासँग हाँस्न पाएँ, रुन पाइनँ । जब बुबाले सन्तानलाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै हाँस्छन् रे ! तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै रुन्छन् रे ! मलाई पनि बुबासँगै रुन मन थियो, अधुरै भयो ।

ड्याडीको सलाम

जब, म आफ्नो खुट्टामा उभिने प्रयास गर्दै थिएँ । बुबालाई यस्तो रोगले च्याप्यो, जुन रोग कहिल्यै निको भएन ।

दिदी बिरानो देशमा । जिम्मेवारी मेरो काँधमा आइलाग्यो । बुबालाई अस्पताल लाने र ल्याउने ठेक्का मेरै थियो । काममा नगई धर पाउदिनथेँ । कलेज पनि जानैपर्यो ।

कलेजबाट फर्कँदा मुस्कानसहित बुबाले भन्नुहुन्थ्यो- सलाम म्याम !

खाना खान हतारिँदै फर्कने म, बुबाको त्यो मुस्कानले भोक-प्यास सबै बिर्सन्थेँ ।

म सुतिरहँदा हरेक बिहानी मेरो कोठाको झ्याल खोलिदिनुहुन्थ्यो । सायद उहाँलाई लाग्थ्यो- घामको किरणले मेरी छोरीमा प्रकाश थपिदेओस् । र, माघको घामजस्तै बनुन् !

उहाँलाई लाग्थ्यो होला- बसन्त यामको हावाले मेरी छोरीलाई सुगन्ध थपिदेओस् ! हरेक फूलको वास्ना मेरै छोरीको हृदयमा भेटियोस् ! हिमालबाट बहने हावाले हिमालझैँ अटल बन्न सिकाइदेओस् !

बिदाको दिन दिनभर बाउछोरी गफिन्थ्यौँ । जाडो महिनामा घाम नजाउन्जेलसम्म कौसीमै हुन्थ्यौँ । सधैँ हौसला र प्रेरणा दिनुहुन्थ्यो । ‘तिमीले जस्तो त अरु कसैले पनि गर्न सक्दैनन्’ भन्नुहुन्थ्यो ।

टेलिभिजन हेर्दा चाहिँ हाम्रो कुरा कहिल्यै मिल्दैनथ्यो । बुबा समाचार लगाऊँ भन्नुहुन्थ्यो । म सिरियल हेरौं भन्थेँ । बुबाले छाड्नुभएसँगै सिरियल पनि छाडिदिएँ । र, समाचारतिर लागेँ ।

अहिले समाचार मात्रै हेर्दिनँ । समाचार पनि भन्छु । अहिले म कस्तो समाचार भन्छु हेर्नु है भन्न आज बुबा नै हुनुहुन्न । योभन्दा दुःखको कुरा मेरा लागि के हुन सक्ला !

यदि, बुबा भइदिनुभएको भए फोन गरीगरी साथीहरुलाई सुनाउनु हुन्थ्यो होला– ‘मेरी छोरीले समाचार भन्दै छे, हेर !’

बुबाबाट सिकेको पाठ

अहिले जीवनको एक कुना खाली छ, बुबाको अनुपस्थितिमा ।

मेरो शरीरमा बगेको रगत । म अडिरहेको संस्कार, बुनेका सपनाहरु बुबाकै हुन् ।

उहाँले बोल्न सिकाउनुभयो । हिँड्न सिकाउनुभयो । त्यसैले त अहिले समाचार पढीरहेकी छु । जीवनको यात्रा गरिरहेकी छु । उहाँले नै दिनुभएको सपनाबाट आफ्नो भविष्य सजाउन थालेकी छु ।

जीवन संघर्ष हो भन्ने बुबाबाटै सिकेकी हुँ । जीवन सधैँ आफूले सोचेजस्तो कहाँ हुन्छ र ! यहाँसम्म धेरै अप्ठेरा झेल्दै आएकी छु । तर, बाटोभरि आइपर्ने अप्ठेरासँग हार खाएकी छुइनँ । जति दुःख परे पनि त्यसबाट मुक्ति पाउन संघर्ष गर्न छाडेकी छुइनँ । केही चुनौतीलाई हार चखाउन पनि सफल भएकी छु ।

समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो भन्ने बुझेकी छु । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । यी सबै बुबाबाटै सिकेकी हुँ ।

यो शाश्वत सत्य हो । आज बुबा भौतिकरूपमा यो संसारमा हुनुहुन्न । तर उहाँ मसँगै हरपल हुनुहुन्छ । विचार, मार्ग, उपदेश, योगदान र बलिदानमार्फत ।

आज मैले अँगालेको संस्कारको मुहान उहाँ नै हो । उहाँबाटै पाएको ‘असल बन्नू’ भन्ने शिक्षा नै अहिले पनि मैले पछ्याइरहेको मार्ग हो । जसलाई पछ्याउन हरदम लागिपरेकी छु । र, उहाँले देखाउनुभएको बाटो परित्याग गर्ने छैन ।

…आज बुबा भौतिकरूपमा यो संसारमा हुनुहुन्न । तर उहाँ मसँगै हरपल हुनुहुन्छ । विचार, मार्ग, उपदेश, योगदान र बलिदानमार्फत । मेरो शरीरमा बगेको रगतमार्फत । म अडिरहेको संस्कार, मैले बुनेका सपनाहरु बुबाकै त हुन् ।उहाँबाटै पाएको ‘असल बन्नू’ भन्ने शिक्षा अहिले पनि मैले पछ्याइरहेको मार्ग हो, म यो मार्गबाट विचलित हुने छैन ।

हिँड्दा-हिँड्दै ठेस लाग्छ । अनायासै भन्छु- ऐया बाबा, मेरे नि बा ! यो मेरा लागि शब्द मात्रै होइन । एउटा शक्ति हो । जसबाट ठेस लागेको सहँदै अगाडि बढ् भन्ने गजबको प्रेरणा प्राप्त हुन्छ । अगाडि बढ्ने साहस मिल्छ ।

छ न त छन् करोडौँ पुरुष छन् संसारमा । तर, अहिलेसम्म बुबाजस्तो मान्छे भेटकी छुइनँ । भेटेका कुनै पनि पुरुष बुबाको बराबरीका लाग्दैनन् । अहिलेसम्म चिनेको सबैभन्दा दयालु मान्छे पनि उहाँ नै हो ।

व्यवहारको विश्वविद्यालय

बुबाले आठ वर्षमा उहाँकी आमा गुमाउनुभयो । त्यसको एक वर्ष नबित्दै बुबा पनि गुमाउनुभयो । त्यसपछि सबै जिम्मेवारी आठ वर्षको बालकमा आइपर्यो ।

बुबाको त्यो यात्रा सजिलो थिँदै थिएन । जति अफ्ठ्यारा भएपनि उहाँले कहिल्यै हिम्मत हार्नु भएन । संर्घष गर्नु छाड्नु भएन । संर्घषको अर्को नाम हो ध्रुब बहादुर राउत अर्थात् मेरा बुबा ।

उहाँ एक संरक्षक, एक मार्गदर्शक, सुपर हिरो र सबैभन्दा ठूलो रोल मोडेल हुनुहुन्थ्यो । एक अद्भुत बुबा, प्रशिक्षक, संरक्षक, सिपाही र साथी सबै हुनुहुन्थ्यो । त्यहीँ प्रेरणले जिउन मद्दत गरिरहेको छ ।

उहाँले माया र संरक्षण मात्र होइन संघर्ष गर्न पनि सिकाउनुभयो । मेरो समग्र विकासका लागि उहाँको स्नेह र प्रज्ञाको जुन भूमिका रह्यो, त्यो कहिल्यै तिरिनसक्नु ऋण भएको छ ।

भनिन्छ- एउटा पाङ्ग्राले मात्रै रथ चल्दैन । बुबाले जति हाम्रा लागि त्याग, योगदान, बलिदान र संघर्ष गर्नुभयो, आमाले पनि त्यति नै गर्नुभएको छ । ‘कालो अक्षर भैँसी बराबर’ लाग्ने ड्याडीममीले त्यहीँ कालो अक्षर चिनाउन दिनरात दुःख गर्नुभयो । र, हामीलाई राम्रो शिक्षा दिनुभयो । संस्कार दिनुभयो । संघर्ष सिकाउनुभयो ।

आमाबुबा

हामीले पढेर दीक्षान्तको स्कार्फ र गाउन लगायौं । हामी शैक्षिक एकेडेमीका कक्षामा पास भयौँ । तर, बुबाआमाले व्यवहारको विश्वविद्यालय पास गर्नुभयो, त्यो पनि उत्कृष्ट मार्कसहित । उहाँहरुले व्यवहारको स्कार्फ र गाउन पहिरिनुभयो । यदि, पढाइको जस्तै व्यवहारलाई पनि पदक दिने हो भने उहाँहरुले स्वर्ण पदक पाउनु हुनेछ । मेरा लागि जीवनको यो भन्दा ठूला उपहार अरु केही हुनेवाला छैन ।

अन्त्यमा

तर, जब बुबाको मुख हेर्ने दिनजस्ता विशेष दिनहरू प्रत्येक वर्ष घुम्छन् । म खत्रक्क हुन्छु । बुबाको सम्झनाले गलाइदिन्छ ।

बुबाले हामीलाई छाडेर जानुभएको चार वर्ष भयो । यी चार वर्षका हरेक दिन उहाँको साथ सम्झन्छु । बुबाका प्रत्येक मनमोहक सम्झना हृदयमा नोट बनेर टाँसिएका छन् ।

‘जब तारा खस्छ र ठाउँ खाली हुन्छ, तब भगवानले धर्तीको सबैभन्दा सुन्दर मन भएको मान्छेलाई बोलाउँछन् र तारा बनाउँछन् ।’ लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’मा उल्लेख यो वाक्यांशले हृदयको अन्तरकुना स्पर्श गर्छ । सायद, बुबाले पनि ध्रुव तारा बनेर हामीलाई हेरिराख्नु भएको होला !

एउटा सत्य- न फूल दुईपटक फक्रन्छ, न त मान्छे नै दुईपटक जन्मन्छन् !

अर्को सत्य- पृथ्वीमा आउने सबै एकदिन यसैमा गायब हुन्छन् । ढिलोचाँडो फरक होला । कोही छैनन्, अजम्बरी !

तर, दुई भनाइ मन बुझाउने बाटा मात्रै हुन् । बुबाको शरीर नहोला तर आत्मा हामीसँगै सधैँ रहिरहने छ ।

मिस यु ड्याडी !

-०-

LIVE TV