३ भाद्र २०७९, शुक्रबार
  • ललिता साह,

सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा करार कर्मचारी विवाद टुङ्गो नलाग्दा तोकिएको समयसीमा भन्दा दुई महिना वितिसक्दा पनि नगरसभा बस्न सकेको छैन । नगर सभाको लगभग सबै विषय तथा बजेट विनियोजन शीर्षकमा सहमति जुटेपनि करार कर्मचारीको सवालमा नगर प्रमुख र उपप्रमुखको विचार बाझिएपछि नगरसभा कहिले हुने हो ? भन्ने विषय अन्यौलमै रहेको नगरपालिका श्रोतले जनाएको छ ।

जनमत पार्टीबाट नगरप्रमुख विरेन्द्र माझी तथा जनता समाजवादी पार्टीबाट नगर उप–प्रमुख सरिता सिपलियानै पूनः निर्वाचित भएकी छन् । नगरसभामा जनता समाजवादी पार्टीको बहुमत रहेको छ । अघिल्लो कार्याकालमै नियुक्त गरिएका करारका सबै कर्मचारीहरुको म्याद थप्ने पक्षमा उपप्रमूख सिपलियाको अडान रहेको छ ।

तर, नगरप्रमुख माझी भने उनीहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्ने मनसायमा छन् । उपप्रमुखले नगर प्रमुखको तर्कसँग आफूहरु बहुमत जनप्रतिधि सहमत नभएकै कारण नगरसभा बस्न नसकेको बताएकी छन् । नगरपालिका तथा नगरको १४ वटा वडामा समेत गरी एक सय ८० जना करारकै कर्मचारी रहेका छन् ।

नगरपालिकामा उक्त सबै कर्मचारीहरूले दैनिक रुपमा कार्यालय आएर कामकाज गरेपनि एक महिनादेखि हाजिरी भने गरेका छैनन् । गत असारमा नगरसभाले अर्को निर्णय नगरेसम्म करारको कर्मचारीको म्याद थप नगर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपेश झाले सूचना जारी गरेदेखि उनीहरुले काम गरेपनि हाजिरी गर्न नपाएको सूचना अधिकारी अमित पाठकले बताए ।

करारका ८६ जना कर्मचारी रहेका तिलाठी कोइलाडी गाउँपालिकामा एउटै पार्टीका अध्यक्ष र उपाध्यक्ष रहेका छन् । उनीहरु करार कर्मचारीहरुको म्याद थपको पक्षमा रहेको उल्लेख गर्दै उपाध्यक्ष फूलकुमारी साहले म्याद थप नगर्ने अध्यक्षको एकल निर्णयमा हस्ताक्षर नगर्ने भएपछि पालिकाको बजेट प्रविष्ट अन्यौलमा परेको बताइन् ।

सप्तरीमा १८ मध्ये चार पालिकाले अझै नगर सभा गर्न सकेका छैनन् । आधा दर्जन पालिकाले सभा शुरु गरेपनि दुई महिना वितिसक्दा सम्पन्न गर्न नसकेर सम्बन्धित साइटमा बजेट समेत प्रविष्ट गर्न सकेका छैनन् । हनुमाननगर कंकालिनी, वोदेवर्साइन नगरपालिका र बलान विहुल तथा तिरहुत गाउँपालिकाले सभा गर्न सकेका छैनन् ।

विष्णपुर, कंचनरूप, छिन्नमस्ता, शम्भूनाथ, तिलाठी कोइलाडी, राजगढ, पालिकाले बजेट प्रविष्ट गरेका छैनन् ।

LIVE TV