३ भाद्र २०७९, शुक्रबार

दाङ । नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन ।

नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ ।

दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ । विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ । पानीका स्रोत (कुवा, धारा) भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ ।

त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ । उता बालापुरको जरुवा क्षेत्रमा बिजुली छैन ।

त्यसको असर भारतीय सीमा सुरक्षा बललाई पर्दछ । सुरक्षाकर्मीले आपूर्ति नेपालबाट बिजुली गरेर अभाव टार्ने गरेका छन् ।

त्यसैले कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ ।

यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ वर्ष बितिसक्यो ।

नेपालतर्फ खानेपानी पाउँदा सुरक्षाकर्मी मात्र होइन स्थानीयवासी पनि खुसी छन् । गढवा गाउँपालिका–८ का पूर्ववडाध्यक्ष सद्दाम सिद्दिकीले पहिलेको तुलनामा खानेपानीको समस्या कम रहेको भए पनि हिउँदको समयमा भारतबाटै पानी ल्याएर काम चलाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी सुरक्षाकर्मीले मात्रै होइन, निःशुल्क रूपमा स्थानीयवासीले पनि ल्याउने गरेका छौँ, उहाँहरूलाई नेपालबाट विद्युत् दिएका छौँ । नेपाल भारतको प्रगाढ सम्बन्धको उदाहरण यहाँ देख्न सकिन्छ ।”

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV