२ भाद्र २०७९, बिहीबार

कैलाली । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढेका छन् ।

टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चा बिरामी भएपछि बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो सञ्चो भए पनि खोकी एक साताभन्दा बढी समयसम्म लागिराख्यो । बच्चासँगै बच्चाका आमा, घरका अन्य परिवारलाई पनि यस्तै समस्या भयो ।

“सबै परिवारलाई बिरामले च्याप्यो, सबैले सामान्य रुघाखोकी र ज्वरोको औषधि सेवन ग¥यौँ, विद्यालउय जाने बच्चालाई एक साता विद्यालय पठाएनौँ”, विकले भन्नुभयो, “अहिले हामी ताजा खानकुरा, सफा उमालेको पानी खाने, गर्मी र धुलोमा नहिँड्ने जस्ता कुरामा सचेत छौँ ।”

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा आजभोलि बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका र बिरामी भएर आउनेमा परिवारका पूरै सदस्य बिरामी भएकासमेत धेरै रहेका सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउनुहुन्छ ।

“विगतका वर्ष यो सिजनमा दैनिक ३५ जनासम्म बिरामी आउनुहुन्थ्यो, यस वर्ष दैनिक ६० जनासम्म बिरामी हेरिरहेका छौँ”, शाह भन्नुहुन्छ, “बिरामी एकै घरका बालबच्चादेखि वृद्धसम्म बिरामी भएर आउनुभएको छ ।”

मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि आजभोलि बिरामी बढेका छन् । स्वास्थ्यकर्मी कविता खड्का विगतका तुलनामा बिरामी बढी आएका, बिरामीमा कोभिडका लक्षण धेरै मिल्ने गरेका बताउनुहुन्छ । “बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दा लक्षण छन्, बिरामी अधिकांशमा लक्षण मिल्दा छन्”, खड्का भन्नुहुन्छ, “तर खोप लगाइसकेका छौँ भनेर मानिस ढुक्क छन् । हामीले बिरामीलाई स्वास्थ्य स्याहार गर्न सल्लाह दिइरहेका छौँ ।”

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउनुहुन्छ । “स्वास्थ्य संस्थामा विगतभन्दा दोब्बर बिरामी बढेका छन् ।

उपचारमा आउने सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन्”, उहाँले भन्नुभयो, “यस्ता बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, सामान्य ज्वरो औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन सुझाइरहेका छौँ ।”

धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका धनसिंहपुर स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताउनुभयो ।

“बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्”, उहाँले भन्नुभयो ।

LIVE TV