३१ श्रावण २०७९, मंगलवार
  • राज दयाल,

ओखलढुंगा । झन्डै तीन वर्षपछि ओखलढुंगामा रोपाईँ जात्राको रौनक देखिएको छ । विगतका वर्षहरुमा कोरोना महामारी लगायतका विभिन्न कारणले स्थगित भएको नेवारी समुदायको यो जात्रा यसवर्ष पुनः निकालिएको हो ।

नेवारी समुदायले परापूर्व कालदेखि देखाउँदै आएको हिलेजात्रा अर्थात रोपाईं जात्रा यसवर्ष आज (मंगलबार) सदरमुकाममा देखाइएको छ । जात्राको अवसरमा नेवारी समुदाय मात्रै नभएर विभिन्न समुदायका बालबालिकादेखि बृद्ध–बृद्धासम्मका नागरीकहरु अनेक भेषभुषामा सजिएर जात्रामा सहभागी भएका छन् ।

जात्राका अवशरमा विभिन्न प्रकारका बाजागाजा बजाएर सांस्कृतिक कार्यक्रमसहित बजार परिक्रमा गर्ने चलन छ । यसवर्ष जनहित गुठी सि.न.पा.–१२ ओखलढुंगाको आयोजनामा हिलेजात्रा निकालिएको वडा नम्बर १२ का वडा अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिए ।

जिल्लास्थित विभिन्न राजनीतिक दल, बुद्धिजिबी, सुरक्षा निकायका पदाधिकारी, कर्मचारी, व्यापारी व्यवसायी लगायतका सर्वसाधरणले जात्राको अवलोकन गरेका थिए । नेवार समुदायको परम्पराकालदेखि चल्दै आएको लाखे जात्रा अन्र्तरगत रोपाईं जात्रा पनि पर्दछ ।

झन्डै १ महिनासम्म पर्वको रुपमा चल्ने यो पर्वमा लाखे जात्राका साथै, रोपाईँजात्रा, गाईजात्रा, कृष्णजन्माष्ठमी जात्रा लगायतका जात्रा देखाउने चलन रहिआएको छ । विशेष गरी नेवार समुदायले मनाउने यो पर्वलाई मृत्यु संस्कार मध्येको एक पर्वका रुपमा पनि लिइन्छ ।

 

LIVE TV