३१ श्रावण २०७९, मंगलवार

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई निलम्बन गरेको छ ।

भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।

फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गर्न बाध्य भएको हो ।

योसँगै भारतले आगामी अक्टोबरमा आयोजना गर्न लागेको यू–१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने भएको छ । भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् ।

फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ । सर्वोच्च अदालतले राखेको कमिटीले हस्तक्षेप गरेपछि मुद्दा परेकोमा फिफाले चेतावनी दिएपनि स्थानीय स्टेट संघहरु चुनावी प्रक्रिया अघि बढाउन असमर्थ रहेका थिए ।

LIVE TV