३० श्रावण २०७९, सोमबार
  • मुस्कान श्रेष्ठ 

वीरगन्ज। वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ । सोमबार महानगरपालिकाको कार्यलयद्वारा आयोजित पत्रकार सम्मेलनमा वीरगन्जका किसानलाई थप मल उपलब्ध गराउने ४ बुँदे सहमति भएपछि नियन्त्रणमा लिएको ४ ट्रक कृषी समाग्री कम्पनी लिमिटेड वीरगंजको जिम्मा लगाएको हो ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत तथा कृषी सामाग्री लिमिटेडका प्रादेशिक प्रमुख चन्द्र चौलागाईद्वारा हस्ताक्षरित ४ बुँदे सहमति पत्रमा वीरगंजका कृषकहरुका लागि उपलब्ध गराईएको २ हजार ७ सय ७१ बोरा सहित थप ६ हजार बोरा युरिया मल उपलब्ध गराउने र यस कार्यमा महानगरपालिकाले समन्वय गर्ने उल्लेख गरिएको छ ।

यसैगरी कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा युरिया मल नयाँ प्रणाली माफर्त वीरगन्ज महानगरपालिकाको रोहवरमा कृषकहरुलाई उपलब्ध गराउने र सोको अनुगमन महानगरपालिकाले गर्ने सहमति भएको छ । साथै नियन्त्रणमा लिएको ट्रक कृषि समाग्री कम्पनी लिमिटेडको जिम्मा लगाउने र मल ढुवानीमा सहजीकरण गर्ने सहमति भएको कृषी समाग्री कम्पनी लिमिटेड वीरगंजका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

ट्रक नियन्त्रण लिएको सन्दर्भमा वीरगंजका नगर प्रमुख राजेशमान सिंहले आफूले रोजेको बाटो गलत भएपनि कृषकहरुले केही राहत प्राप्त गरेको बताएका छन्। मल समस्याको दिर्घकालीन समाधानका लागि राज्यले गम्भीर हुनुपर्ने बताए।

कृषी सामग्री लिमिटेडका प्रादेशिक प्रमुख चन्द्र चौलागाईले मल आयातका लागि सरकारले रुपैयाको आधारमा नभई नेपाललाई आवश्यक पर्ने मेट्रिक टनको आधारमा बजेट छुट्टाउनुपर्ने बताए। उनले आगामी धान सिजनका लागि सरकारले बजेट विनियोजन लगायतका कार्यहरु आजबाटै सुरु गरे कृषकहरुको समस्या समाधान हुने बताए। उनले मंगलबारदेखि मल वितरणका कार्यहरु सुरु हुने जानकारी दिए।

केहि दिनअघि मात्र ग्लोबल टेण्डर मार्फत ओमानबाट ३० हजार मेट्रिक टन रसायनिक मल वीरगंज आईपुगेको थियो । आयात भएका मल अन्य जिल्लामा पठाउन थालेको भन्दै आईतबार कृषकहरुले ४ ट्रक मल नियन्त्रणमा लिएका थिए ।

 

LIVE TV