३० श्रावण २०७९, सोमबार
  • सन्ताेष सिम्खडा

काठमाडाैँ । मार्क्सवादी दर्शनका आधारभूत मान्यताको मूल तत्व नै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । तत्कालीन नेकपा (माओवादी) को संस्थापक मध्येका एक , जनयुद्धका नेतृत्वकर्ता डा. बाबुराम भट्टराईले मार्क्सवाद छाड्दै नेकपा (माओवादी केन्द्र) सँग सम्बन्ध विच्छेद गर्दै वैकल्पिक शक्तिको हवाला दिँदै नयाँ शक्ति नेपाल नामक खुद्रा पसल सञ्चालनमा ल्याए । तब धादिङमा पनि त्यसका केही बाछिटा पर्नु अस्वाभाविक भएन । सुरुवातमा प्रभावशाली महिला नेतृ तथा पूर्व मन्त्री कल्पना धमला , संविधानसभाका सभाषद् वीरबहादुर तामाङ , युवा नेता राजु नेपाल , शिक्षासेवी राजेन्द्र केसी लगायतका व्यक्तिहरू नयाँ शक्तिमा आबद्ध हुँदा जिल्लामा राम्रै उभार आउने सम्भावना देखिएको थियोे । परन्तु , धमलासँगै केही नेताहरू माओवादी केन्द्रमै फर्किए भने राजनीतिक बाहिरका पात्रहरू बिस्तारै निष्क्रिय हुने र पलायन हुने क्रम रोकिएन ।

नेपाली राजनीतिमा सबैभन्दा बढी उतारचढाव र अस्थिरता डाक्टर भट्टराईमा देखा पर्यो । नयाँ शक्ति पार्टीलाई सेलाउँदै क्षेत्रीय पार्टीकोरूपमा रहेको उपेन्द्र यादवको पार्टीसँग एकता गर्न पुगे बाबुराम । एकता पश्चात् समाजवादी पार्टी नेपाल बनाएका उनीहरूले मधेसकै अर्को दल राष्ट्रिय जनता पार्टीसँग एकता गरि राष्ट्रिय पार्टी बनाउने उद्घोषका साथ जनता समाजवादी पार्टी निर्माण गरे । तर , यो एकता पनि लामो समय टिक्न सकेन । पूर्व राजपाहरूले जसपाबाट अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे भने बाबुराम भट्टराई फेरि बचेखुचेको सिमित शक्ति बोकेर नेपाल समाजवादी पार्टी नामको नाङ्ले पसल खोल्न आइपुगे ।

 जताजता बाबुराम , उतैउतै स्वाहा :

सांगठनिक आधार र जनमत खस्कँदो क्रममा रहेपनि धादिङ जिल्लाका नेताहरू राजु नेपाल , वीरबहादुर तामाङ , सिर्जना रिजाल नेपाल , सुदर्शन खतिवडा निरन्तर बाबुराम भट्टराईलाई सहयोग गर्नेमा पर्दछन् । माओवादी केन्द्र छाडेपछि यी नेताहरूले आजसम्म भट्टराईको साथ छाडेका छैनन् ।

 आधा दर्जन केन्द्रीय सदस्य :

जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईलेको पार्टीमा धादिङ जिल्लाबाट आधा दर्जन केन्द्रीय सदस्य रहेका छन् । नवगठित नेसपाको १८९ सदस्यीय केन्द्रीय समितिमा राजु नेपाल , वीरबहादुर तामाङ , सिर्जना रिजाल नेपाल , रिमबहादुर बस्याल , रामबहादुर घले र निकिता तामाङ केन्द्रीय सदस्य रहेका छन् । यो सङ्ख्या कूल केन्द्रीय समितिको ३.७० प्रतिशत हो । धादिङ जिल्लाको हकमा पूर्व जनता समाजवादी पार्टी नै पूर्णरूपमा नेपाल समाजवादी पार्टीमा रुपान्तरण भएको देखिन्छ ।

स्थानीय निर्वाचनमा उपस्थिति :

पाँच दलीय गठबन्धनको एक घटक रहेको तत्कालीन जनता समाजवादी पार्टीले धादिङ जिल्लामा चुनावी तालमेललाई उपयोग गर्न सकेन । जसका कारण जिल्लाका १३ वटा स्थानीय तह र १०४ वटा वडामध्ये जसपाले नीलकण्ठ नगरपालिकामा प्रमुख , ५ वटा स्थानीय तहमा अध्यक्ष , २ वटा स्थानीय तहमा उपाध्यक्ष , १३ वटा वडामा वडा अध्यक्ष , ६ वडामा महिला सदस्य , ५ वडामा दलित महिला सदस्य र ११ जना खुल्ला सदस्य गरि कूल ४३ जना उम्मेदवार मात्रै उठाएको थियोे ।

* जसपाबाट पालिका प्रमुखका उम्मेदवार :
क्र. सं. /         नाम थर /                स्थानीय तह /                      प्राप्त मत
(०१) खो थापा तामाङ ,              रुबिभ्याली गाउँपालिका              १३०
(०२) गोपाल गुरुङ ,                  खनियाबास गाउँपालिका             ६०
(०३) सुरेश वाइवा ( तामाङ ) ,    त्रिपुरासुन्दरी गाउँपालिका           २९
(०४) जितबहादुर विश्वकर्मा ,       नेत्रावती डबजोङ गाउँपालिका    ११०
(०५) तारालाल धरेल ,                 नीलकण्ठ नगरपालिका              ३१७
(०६) रमेश बुढाथोकी ,               गल्छी गाउँपालिका                    १४

* उपाध्यक्षका उम्मेदवार :
क्र. सं. /         नाम थर  /              स्थानीय तह/                         प्राप्त मत
(०१) मिलिमाया तामाङ ,               रुबिभ्याली गाउँपालिका          २३३
(०२) निकिता तामाङ ,                 खनियाबास गाउँपालिका          २१५

# स्थानीय निर्वाचनको मतभार :

वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा जिल्लामा एमालेले ६३हजार ७ सय १६ , नेपाली कांग्रेसले ४९ हजार ३ सय ८८ , नेकपा ( माओवादी केन्द्र ) ले ३९ हजार ३ सय ५ , एकीकृत समाजवादीले १२ हजार २ सय ९२ , राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ५ सय ९ र जनता समाजवादी पार्टीले १ हजार ६० मत प्राप्त गरेको छ । क्षेत्रगत आधारमा निर्वाचन क्षेत्र नं. १ मा एमालेले ३७ हजार ७ सय ७८ , माओवादी केन्द्रले २४ हजार ९ सय २५ , नेपाली कांग्रेसले १९ हजार ४ सय २३ , एकीकृत समाजवादीले ८ हजार ८ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय २२ मत प्राप्त गर्दा तत्कालीन जनता समाजवादी पार्टीको उपस्थिति शून्य देखिएको छ भने निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसले २९ हजार ९ सय ६५ , एमालेले २५ हजार ९ सय ३८ , माओवादी केन्द्रले १४ हजार ३ सय ८० , राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार २ सय ८७ , एकीकृत समाजवादीले ३ हजार ४ सय ५६ र जनता समाजवादी पार्टीले १ हजार ६० मत प्राप्त गरेको छ ।
जिल्लामा यो पार्टी छैटौं दलको रूपमा उभिएको छ ।

# एउटा प्रदेश सभा क्षेत्रमा सिमित :

जिल्लाका २ संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामध्ये नेपाल समाजवादी पार्टी केवल निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ( ख ) मा सिमित हुन पुगेको छ । वडा अध्यक्षको उम्मेदवारीलाई हेर्दा यो पार्टीले क्षेत्र नं. २ को प्रदेश सभा ( ख ) बाहेक नीलकण्ठ नगरपालिकाको प्रमुख र गल्छी गाउँपालिकाको अध्यक्षमा मात्र उम्मेदवारी दिएको छ ।

# केन्द्रीय सदस्यकै गृहनगर कमजोर :

केन्द्रीय सदस्य द्वय राजु नेपाल र सिर्जना रिजाल नेपाल दम्पतीको गृहनगर नीलकण्ठ नगरपालिकामा पार्टीले नगरपालिका प्रमुखतर्फ ३१७ र वडाध्यक्षतर्फ जम्मा ९८ मत प्राप्त गरेको छ । यो जिल्ला अध्यक्ष राम ढकालको समेत गृहनगर हो । अर्का केन्द्रीय सदस्य वीरबहादुर तामाङको पालिकामा अध्यक्षतर्फ ११० र वडाध्यक्षतर्फ २३६ मत प्राप्त भएको छ । त्यस्तै केन्द्रीय सदस्य रिमबहादुर बस्यालको त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्षको मत २९ र वडाध्यक्षको मत ११६ रहेको छ । केन्द्रीय सदस्य निकिता तामाङ स्वयम् उपाध्यक्षको उम्मेदवार रहेको खनियाबास गाउँपालिकामा उनले २१५ मतमा चित्त बुझाउनु परेको छ भने अध्यक्ष र वडाध्यक्षको मत क्रमशः ६० र ६७ रहेको छ ।

# जिल्लागत मतभार :-
* जिल्लाभर :- १०६०
* निर्वाचन क्षेत्र नं. १ :- ०
– प्रदेश सभा (क) :- ०
– प्रदेश सभा (ख) :- ०
* निर्वाचन क्षेत्र नं. २ :- १०६०
– प्रदेश सभा (क) :- ०
– प्रदेश सभा (ख) :- १०६०

#जिल्लाका ५ स्थानीय तहका १३ वटा वडामा प्राप्त वडा अध्यक्षको मतभार :

(०१) रुबिभ्याली गाउँपालिका :- ५४३
(०२) खनियाबास गाउँपालिका :- ६७
(०३) त्रिपुरासुन्दरी गाउँपालिका :- ११६
(०४) नेत्रावती डबजोङ गाउँपालिका :- २३६
(०५) नीलकण्ठ नगरपालिका :- ९८
जम्मा :- १०६०

जिल्लाका एकमात्र जनप्रतिनिधि :

स्थानीय तह निर्वाचन २०७९ मा जनता समाजवादी पार्टीले जिल्लामा उठाएका ४३ जना उम्मेदवारमध्ये जम्मा एकजना वडा अध्यक्षले मात्रै जित निकाल्न सफल भए । यो केवल २.३ प्रतिशत हो । रुबिभ्याली गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फे दोर्जे तामाङ जनता समाजवादी पार्टीबाट विजयी एकमात्र जनप्रतिनिधि हुन् । गठबन्धनका उम्मेदवार रिकमान तामाङलाई ११६ मतान्तरले पराजित गरेका फे दोर्जेले ५०३ मत प्राप्त गरि विजयी भएका थिए । स्थानीय क्षेत्रमा लोकप्रिय युवा समाजसेवीको छवि बनाएका उनले पार्टीलाई जिल्लामै शून्य हुनबाट जोगाउन सफल भएका छन् ।

अबको बाटो :

जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यले काठमाडौंलाई कर्मभूमि बनाएका छन् । प्रायः व्यवसायी रहेको यो टिम जिल्लाको पार्टी र संगठन विस्तारमा त्यति फलदायी देखिँदैन । आगामी निर्वाचनमा सत्ता गठबन्धनमै सामेल हुन खोजिरहेका डा. भट्टराईले गोरखामा आफूलाई सिट सुनिश्चित गरी अन्य जिल्लाका सहयोगी मतलाई गठबन्धनको पक्षमा रुपान्तरण गर्ने देखिन्छ । धादिङको हकमा पनि नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गरी समानुपातिक तर्फ मत बढाउनतिर लाग्ने देखिन्छ ।

प्रत्यक्षतर्फ १ सिट र समानुपातिक तर्फ सदर मतको ३ प्रतिशत मत पुर्याइ राष्ट्रिय पार्टी बन्नुपर्ने चुनौतीका बीच राजनीतिक जीवनकै उत्तरार्धमा उभिएका डाक्टर भट्टराईलाई जिल्लाबाट थप भरसेक गर्नु नेपाल समाजवादी पार्टी, धादिङको कार्यभार बनेको छ ।

LIVE TV