३० श्रावण २०७९, सोमबार

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा आइतबार बाघजात्रा देखाइएको छ । सो जात्रा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने परम्परा रही आएको छ ।

बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । यहाँ हरेक वर्षजस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन् ।

मानिसलाई बाघको रुपमा सिंगारेर शिकारीले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ । यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक उत्साहित हुँदै अवलोकन गर्दछन् ।

परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बूढापाका बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ ।

परम्परागत रुपमा मनाईदै आइएको जात्रा पछिल्ला वर्षहरुमा हराउँदै जान थालेपछि पुराना पुस्ता भने चिन्तित छन् । समुदायको पहिचान बोकेको पुरानो परम्परा र संस्कृति संरक्षणमा जोड दिनुपर्ने तानसेनका स्थानीयवासी तथा नेपाली कांग्र्रेसका पाल्पा उपसभापति झपेन्द्र गहिरे बताए ।

उनले भने, ‘पर्व विशेषरुपमा देखाइने विभिन्न संस्कृतिले हाम्रो गाउँ समाजका दुःख सुखको कथा बोकेको हुन्छ, अर्कोतर्फ यसरी जात्रा देखाउँदा मानिसलाई खुसी र रमाइलो बनाउने संस्कृतिलाई बचाउँदै निरन्तरता दिनुपर्दछ ।’

पछिल्ला वर्षमा बढ्दो सूचना र प्रविधिको विकासले पहिलेजसो भने जात्रा हेर्न धेरै टाढाबाट आउने क्रम भने कमै पाइन्छ । तैपनि संस्कृति धान्न पर्वअनुसार भने निरन्तररुपमा देखाउने गरिएको छ ।

जिल्लामा नागपञ्चमी पर्व सुरु भएपछि लाखेनाच, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रालगायतका विभिन्न संस्कृति देखाउने गरिन्छ । युवा महिलाको भेषमा सजिएर व्यङ्ग्य गर्दै जात्रा निकाल्ने प्रचलन छ ।

LIVE TV