२९ श्रावण २०७९, आईतवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज । लामो समयपछि वीरगञ्ज आइपुगेको रासायनिक मल बाहिरी जिल्लामा पठाउन थालेको भन्दै वीरगञ्जका किसानहरुले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ४ ट्रक रासायनिक मल कब्जामा लिएका छन् । धानमा गोड लगाउने बेला मल नपाएर चिन्तित बनेका किसानहरुले वीरगञ्ज आइपुगेको मल बाहिर पठाउन थालेको थाहा पाएपछि कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय भूटनदेवीको गोदामबाट नियन्त्रणमा लिएका हुन् ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा किसानहरुले रासायनिक मल नियन्त्रणमा लिइएको किसानहरुले बताएका छन् । नियन्त्रणमा लिइएको ट्रकलाई वीरगञ्जको आर्दशनगरस्थित बालमन्दिरको प्राङगणमा राखिएको छ ।

वीरगञ्जका कृषकहरुले मल उपलब्ध गराउन आग्रह गर्दासमेत सुनुवाई नभएपछि ट्रक नियन्त्रणमा लिइएको वीरगंज महानगरपालिकाको मेयर राजेशमान सिंहले बताएका छन् । उनले पर्साका किसानहरुका अत्यधिक मलको आवश्यक्ता भएको हुदाँ कृषी सामग्री कम्पनी लिमिटेडले ८ सय मात्र छुट्टाउन गलत रहेको बताए । उनले आफूहरुले ७ हजार मेट्रिक टनको माग राखेको जानकारी दिए ।

यता कृषि सामग्री संस्थानको ईनर्वाको भूटनदेवीस्थित गोदामका प्रमुख चन्द्र चोलागाईले मलको विक्री वितरण देशभरी नै आजबाट गरिएको बताएका छन् । उनले आफूहरुले थप मल उपलब्ध गराउन नसक्ने भन्दै यस विषयमा केन्द्रसँग छलफल भइरहेको र केन्द्रले निर्देशन गरेको अनुसार आफूहरु अघि बढ्ने बताए ।

पर्सा जिल्लामा ५४ हजार ७ सय ३२ हेक्टर क्षेत्रफलमा खेतीपाती हुने गरेको छ । केहि दिन अघिमात्र ग्लोबल टेण्डरमार्फत् वीरगञ्जमा ३० हजार मेट्रिक टन मल आइपुगेको थियो । जसमध्ये २७ हजार मेट्रिक टल बाडफाड भइसकेको छ ।

मधेश प्रदेशमा मात्रै ३२.४ प्रतिशत अर्थात् ८ हजार ६ सय ४५ मेट्रिक टन मल छुट्टयाइएको कृषी सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । यस्तै पर्सा जिल्लाका लागि ८ सय २३ मेट्रिक टन मल छुट्टाइएको छ ।

 

LIVE TV