२९ श्रावण २०७९, आईतवार

काठमाडौं । आमिर खानले निकै मेहनत गरेका फिल्म ‘लाल सिंह चढ्ढा’ दर्शकमाझ रिलिज भइसकेको छ । रिलिज अगाडि आमिरको यो फिल्मलाई लिएर निकै हल्ला चलेको थियो । तर, उक्त हल्ला अनुसार फिल्मले बक्स अफिसमा खासै राम्रो कलेक्सन गर्न सकिरहेको छैन ।

आमिर खान र करिना कपुर खान अभिनित ‘लाल सिंह चड्ढा’ दर्शकमाझ रिलिजमा आएको तीन दिन बितिसकेको छ । तर, हालसम्म पनि फिल्मको कमाइले गति लिन सकिरहेको छैन ।

बहिष्कारको प्रभाव

त्यसोत, आमिर र करीना अभिनित ‘लाल सिंह चड्ढा’ बलिउडमा बहिष्कारको चलनका कारण निकै पीडामा परेको छ । भावनात्मक कथामा आधारित सुपरस्टार आमिर खानको फिल्म लाल सिंह चड्डालाई दर्शकले ठाडै अस्वीकार गरेका छन् । त्यसपछि पछिल्लो ३ दिनमा फिल्मले निकै सुस्त कमाई गरेको देखिएको छ ।

३० करोड पनि पार गर्न सकेन

आमिर खानको लाल सिंह चड्ढाले पहिलो दिन ११.७० करोडको ओपनिङ गरेको थियो । योसँगै फिल्मले दोस्रो दिन जम्मा ७.२६ करोड र तेस्रो दिन कुल ९ करोड कमाएको छ । फिल्मको सार्वजनिक यी तथ्यांकले फ्यानलाई निकै निराश तुल्याएको छ । जसका कारण फिल्मले तेस्रो दिन पनि ३० करोडको आँकडा पार गर्न सकेन ।

चार वर्षपछिको फिल्म

यो फिल्म तयार हुन करिब ४ वर्षको लामो समय लागेको छ । प्रि–प्रोडक्शनको चरण थप्दा, फिल्म बनाउन आमिर खानको जीवनको १४ वर्ष लागेको थियो । फिल्म करिब १८० करोडको मेगा बजेटमा बनेको हो ।

त्यसैले आमिर खान र करीना कपुर खान अभिनित यो फिल्मले २०० करोडको कुल कमाईको आँकडा छुन्न निकै महत्वपूर्ण छ । अहिले यो आँकडा हासिल गर्न गाह्रो भइरहेको छ । आमिर खान र करीना कपूर खानको यो फिल्म ओस्कर विजेता फरेस्ट गम्पको आधिकारिक हिन्दी रिमेक हो ।

LIVE TV