२९ श्रावण २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए । उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताए । अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नेपाली पहिचान खोज्न आवश्यक रहेको बताए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताए । उनले भने, ‘अहिले गठबन्धनमा भएका सरकारले दुश्मनीतिर राजनीति लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिष्पर्धातिर जाने की दुश्मनीतिर ? कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेण्टमा ल्याउन खोजिन्छ । हाम्रो पहिचान भनेर ।’

उनले थपे, ‘नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा ग¥यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’

आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताए । उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए । उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बताए ।

अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताए । उनले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिवद्धता जनाए । उनले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे ।

उनले भने, ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पती आफ्नो होइन अब राज्यको सम्पती भनेर पास गरिसकेको छु । किनभने म देशका लागि समर्पित छु । त्यसकारण मेरो घर म बाचुन्जेल, मेरो श्रीमती बाचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ । बिरामी भएँ भने तपाईहरुले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन । सांसद छु सांसदको हिसावले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ ।’

उनले फेरि भने, ‘मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु । कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु । गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु । आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढीरहन्छु । म युवाहरु भन्दा कम सक्रिय छैन ।’

त्यस्तै, अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे । उनले नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए ।

अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको बताए । उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताए ।

तस्वीर : महेश्वर के.सी.,

LIVE TV