२९ श्रावण २०७९, आईतवार

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई एमालेमा आउन आग्रह गरेका छन् । उनले काठमाडौँको फोहोर व्यवस्थापनमा सरकारले साथ नदिएको भन्दै एमालेले साथ दिने बताए ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले बालेनलाई एमालेसँग सहकार्य गर्न आग्रह गरेका हुन् । यसो गरेमा एमालेले काठमाडौको फोहोर व्यवस्थापनमा सघाउने बताए ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले भने, ‘काठमाडौँको फोहोर नउठेको आज ७१ दिन भयो । शहर नै डुङडुङती गन्हाउने अवस्था भएको छ तर सरकारलाई गह्नाएन । प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । यो सरकारले कुनै पनि पहलकदमी गर्दैन, हुती पनि छैन ।’ उनले फोहरका कारण झाडापखाला, हैजा लगायत रोग फैलने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

वर्तमान सरकार उदासिन रहेको भन्दै उनले बालेन शाहलाई सरकारको भर नपरेर एमालेसँग सहकार्य गर्न अनुरोध गरे । एमालेसँग भिजन र दृष्टिकोण भएकाले एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको बताए ।

LIVE TV