२९ श्रावण २०७९, आईतवार

काठमाडौं । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् ।
विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ ।

विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवर्द्धनसम्म छन् ।

कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन परेको हो ।
हालसम्म सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् ।

नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवर्द्धक लगानी गर्न उत्साहित भएको स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपानका अध्यक्ष कृष्ण आचार्यले बताए ।

“नेपालको बिजुली खेर जान पाउँदैन भन्ने मनोबलले लगानीकर्तामा उत्साह छ, बजार पहुँचमा एकाधिकार अन्त्य भयो भने यो उत्साह अझै बढ्छ,” उनले भने ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

LIVE TV