२९ श्रावण २०७९, आईतवार

इलाम । इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् ।

सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन् । स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीकी आमा बनिन् । आमा भएको ६ महिना नबित्दै श्रीमान्को हिंसाको सिकार बनिन् । दिनदिनै हिंसाको सिकार बनेकी किशोरी श्रीमान्सँग बस्न नसक्ने अवस्थामा पुगिन् ।

भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन् । डेढ वर्षकी छोरीसहित विस्थापित किशोरीलाइ मानवअधिकार मञ्च इलामले उद्धार गरी केही दिन आफ्नो सेल्टरमा राख्यो । अहिले छोरीसँगै विराटनगरस्थित सरकारी सेल्टरमा छिन् । अभिभावकको संरक्षणमा पढ्ने–बढ्ने उमेरमा आफैं अभिभावक (आमा) बनेपछि अहिले उनी ‘न माइत न त घर’की भएकी छन् ।

जिल्लामा दर्जनौं बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने गरेको पाइएको छ । ‘लहड र लहर’मा विवाह गर्ने र उमेर छिप्पिदै जान थालेपछि ‘बेमेल’ हुने गरेको देखिन्छ । बालविवाहले उनीहरूको भविष्य अन्योल र कष्टकर बनाइदिने गरेको छ ।

इलामको एक माध्यमिक विद्यालयकी शिक्षिका ‘कक्षा ८ मा मात्र ३० जोडीसम्म भेटिएपछि उनीहरूलाई काउन्सिलिङ गरिएको’ बताउँछिन् । सानै उमेरमा मोबाइल फोन प्रयोग, सामाजिक सञ्जाल र युट्युबको सिको गर्दै किशोरकिशोरी ‘प्रेमीप्रेमिका’ बन्ने गरेको उनको बुझाइ छ ।

कानुनले बालविवाह बर्जित गरेकाले छोराछोरी भएपछि झनै समस्या हुने गरेको छ । उमेर नपुगी विवाह गरेका जोडीबाट जन्मिएका बच्चाको जन्मदर्ता भए पनि ‘विवाह दर्ता’ नहुने भएकाले विवाहपछि अलग हुनुपर्दा महिलाले ‘अंश दाबी गर्न समस्या हुने गरेको’ कानुन व्यवसायी याम लिम्बू बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

LIVE TV