२८ श्रावण २०७९, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आमरण अनशनरत निहारिका राजपूतलाई भेटेका छन् । शनिबार महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेर मेयर साहले निहारिकालाई भेटेका हुन् ।

मेयर साहले निहारिकालाई भेटेको तस्वीर सेयर गर्दै ‘एउटा आमाले आफ्नो बच्चाको डीएनए टेस्ट गर्नका लागि जल्न तयार हुनुपर्ने ?’ भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

मेयर साहले भनेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

करिब १० मिनेट कुराकानी गरेका मेयर साहले निहारिकाको संघर्षमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै निहारिकाले मेयर साहसँग आफूलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

त्यसोत, निहारिकाले शुक्रबार (हिजो) मात्रै राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी थिइन् । आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि निहारिकालाई महाराजगञ्ज वृत्तमा लगिएको थियो ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपीलाई पक्राउ गर्न माग राख्दै आमरण अनसनमा बसेकी हुन् ।

LIVE TV