२६ श्रावण २०७९, बिहीबार

काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुनले फिल्ममार्फत् मात्रै नभई आफ्नो निर्णयले पनि दर्शकहरुको मन जित्दै आएका छन् । अभिनेता अल्लु अर्जुन पुनः एक पटक आफ्नो नयाँ निर्णयका कारण हेडलाइनमा छन् । केही महिनाअघि पुष्पा स्टारर् अल्लु अर्जुनले पान मसला ब्रान्डको प्रवद्र्धनका लागि विज्ञापन गर्न अस्वीकार गरेका थिए ।

त्यतिबेला रिपोर्टमा भनिएको थियो कि अल्लु अर्जुनलाई पान मसलाको विज्ञापनको लागि मोटो रकममा अफर गरिएको थियो तर, उनले पान मसाला ब्रान्डको प्रचार गर्न अस्वीकार गरे ।’

यसैबीच अल्लु अर्जुन फेरि एक ब्रान्डको अफर अस्वीकार गरेको कारण चर्चामा आएका छन् । मदिराको ब्राण्ड प्रवद्र्धनका लागि गरिएको करोडौं रुपैयाँको अफर अल्लु अर्जुनले अस्वीकार गरेका हुन् ।

यो जानकारी साउथ फिल्म इन्डस्ट्रीका स्तम्भकार मनोबाला विजयबलनले दिएका हुन् । आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा उनले अल्लु अर्जुनको बारेमा लेखेका छन्, ‘अल्लु अर्जुनले रक्सी र पान मसाला ब्रान्डको प्रचार गर्न १० करोड रुपैयाँको प्रस्ताव अस्वीकार गरेका छन् । हाल उनी ब्रान्ड एन्डोर्समेन्टका लागि ७.५ करोड भारु लिइरहेका छन् । उनको सिद्धान्त पालना गरेकोमा स्टारलाई बधाई छ ।’

अहिले मनोबाला विजयबलनको यो ट्विट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अल्लु अर्जुनका फ्यानहरुले यो ट्वीटलाई निकै मन पराएका छन् ।

यसअघि पान मसालाको विज्ञापनका लागि अभिनेता अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई निकै आलोचनाको सामना गर्नुपरेको थियो । यसअघि मेगास्टार अमिताभ बच्चनले पनि पान मसालाको विज्ञापनबाट आफूलाई टाढा राखेका थिए ।

 

LIVE TV