२४ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले)ले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् । मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए । उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा (एमाले)मा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए । उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामथ्र्य राख्ने बताए ।

उनले भने, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्नेकुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरुसँग छलफल हुनसक्छ ।’

उनले थपे, ‘तर, गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेण्डाहरु मिल्ने साथीहरु भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’

सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए ।

LIVE TV