२३ श्रावण २०७९, सोमबार
  • रत्नराज पुन मगर

१)

गरीबलाई छाड्दै नछाड्ने यो अनिकालले पनि
साँच्चै एउटा दु:खले पनि र अर्को त्रिपालले पनि

भोको बालक भोकै निदाउँदा मान्छेले कठै भन्दैनन्
बरु बोल्ने भए कठै ! भन्थ्यो होला पर्खालले पनि

परिवारको एउटा घाम अस्तायो बुझ्नुपर्छ आमा !
बा’लाई बचाउन सक्दै-नसके’सी अस्पतालले पनि

मैले त जाबो टालो न हो भनेर च्यातिदिएको थिएँ
केही सपना, केही याद बोक्दोहेछ रूमालले पनि

खबर सोध्नुहुन्छ म बेहाल छु भनेर जवाफ दिन्छु
कसैलाई खुसी बनाउने रहेछ कसैको बेहालले पनि ।

२)
बाँच्नुु मात्रै त जसरी’नि बाँचिन्छ के गरूँ !
थोरै, कमाउनतिर मन लोभिन्छ के गरूँ !

भुँडी मात्रै भर्न परे ढुंगा माटोले भरिदिन्थेँ
तर जिब्रोलाई स्वादिष्ट चाहिन्छ के गरूँ !

किन परदेशी भइस् भनेर नसोध्नुहोस्
आफूसँग एक पाइलो जमिन छ के गरूँ !

साहुको डर लाग्दा म कहाँ-कहाँ लुकिनँ ?
तर उसको आँखामा नै दूरबिन छ के गरूँ !

एक पाइला माथि चढ्न सकिएन कहिल्यै
जहाँ टेक्यो त्यहीँ माटो भत्किन्छ के गरूँ !

संघर्ष गर् ‘रत्न’ तैँले हरेस खाँदै नखाएस्
बाँच्ने आशामा कतिपटक मरिन्छ के गरूँ !

LIVE TV