२२ श्रावण २०७९, आईतवार

रुपन्देही । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपाल सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाबेला उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने दाबी गरे ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने टिप्पणी जिकिर गरे । माओवादी र नेकपा (एकीकृत समाजवादी) विचार, गन्तव्य, लक्ष्यमा दुविधा रहेका पार्टी भएको आरोप उनले लगाए ।

पोखरेलले माओवादी र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको जनाउँदै यी पार्टीबाट मुलुक समृद्धिको सपना नदेखे हुने जनाए । उनले एमालेको मुख्य प्रतिष्पर्धा कांग्रेससँग नै रहेको जनाए ।

अब एमालेले पार्टी प्रवेश र घर फर्क अभियान थाल्नुपर्नेमा उनको जोड छ । नेता पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप समेत लगाए । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दाबी गरे ।

उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनताकामाझ लैजानुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभा विघटन गलत नभएको बताए । उनले पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्व सरकारले गरेका राम्रा कामको परिणाम भएको उनको भनाइ थियो । जनतामाझ एमाले लोकप्रिय भएकाले पाँचदलीय गठबन्धनले एमालेविरुद्ध गठबन्धन गरेको उनले जिकिर गरे ।

LIVE TV