२० श्रावण २०७९, शुक्रबार

बैतडी । जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशभरिमै उत्कृष्ट १० भित्र परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरिका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हेर्दा बैतडी १० औँ नम्बरमा पर्न सफल भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच आव २०७८/७९ का लागि भएको कार्य सम्पादन सम्झौता कार्यान्वयनका सम्बन्धमा मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुसार बैतडी १०औँ नम्बरमा परेको हो । जिल्ला प्रशासन कार्यालय पहिलोपटक उत्कृष्ट १० भित्र पर्न सफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । दुई वर्ष अगाडी बैतडी १२औँ नम्बरमा थियो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दा फर्छ्यौटलगायत आधारमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उत्कृष्ट १० भित्र अटाएपछि उहाँले जिल्ला सुरक्षा समिति परिवार, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सरकारी कार्यालय, स्थानीय तह, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मीलगायत सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो । कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरिको पहिलो नम्बरमा रहेको छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १० भित्र अटाउन सफल भएको छ । – रासस

 

LIVE TV