२० श्रावण २०७९, शुक्रबार

भोजपुर । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् ।

प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ ।

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, लुकुनीलगायत पनि बिक्री गर्दै आएका छन् ।

सयसम्म भेडा भएमा वार्षिक रु चार लाखसम्म आम्दानी हुने १२ वर्षदेखि भेडापालन गर्दै आउनुभएका टेम्केमैयुङ गाउँपालिका–२ बोबोकका कृषक गोविन्द कठेतले जानकारी दिनुभयो ।
यहाँ एक जना कृषकसँग एक सउ ५० वटासम्म भेडा रहेको उहाँले जानकारी दिनुभयो । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने उहाँको भनाइ छ ।

कृषक कठेतले भन्नुभयो, “दुःख धेरै छ तर भेडा राम्ररी फस्टाए भने आम्दानी पनि राम्रो छ । एक सय ५० देखि दुई सयसम्म भेडा भएमा वर्षमा आठदेखि नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।”

पछिल्लो समय युवापुस्तासमेत भेडापालनमा आकर्षित भएको उहाँको भनाइ छ । विदेश गएर आएकाले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको कृषक कठेतले जानकारी दिनुभयो । “युवा पुस्तामा भेडापालन प्रतिआकर्षण छ”, उहाँले भन्नुभयो, “गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”

मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक रुपमा भेडापालन गरिरहेको किसान कठेतको भनाइ छ । यसमा करिब नौ जना खोटाङका र अन्य भोजपुर जिल्लाका रहेको उहाँले जानकारी दिनभयो । भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको उहाँले बताउनुभयो ।

भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उहाँको भनाइ छ । त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारीदिने समस्या छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायतका रोगले धेरै दुःख दिँदै आएको छ ।

“भेडापालनमा धेरै समस्या छ । पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन्”, उहाँले भन्नुभयो, “एउटा वन क्षेत्रमा चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । त्यस्तै विभिन्न समयमा देखिने रोग तथा वन्यजन्तुको आक्रमण पनि धेरै क्षति पुग्ने गरेको छ ।”

भेडालाई तातो मौसमको (बर्सात) समयमा माथिल्लो भेग र चिसो मौसमअर्थात् हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ ।

तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिनुभयो ।

धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने राईको भनाइ छ ।

LIVE TV