२० श्रावण २०७९, शुक्रबार

गलेश्वर । सूचना प्रविधिको पहुँच र विश्वव्यापीकरणको प्रभावका कारण म्याग्दीलगायत देशका प्राय : सबै ग्रामीण क्षेत्रबाट परम्परागत रैथाले खेल लोप भएका छन् ।

विगत तीन दशकको अवधिमा धेरै शारीरिक खेल लोप भए सकेका र कतिपय रैथाले खेल लोपोन्मुख अवस्थामा पुगेका खेलप्रेमीले बताएका छन् ।

कुनै समय नेपालको राष्ट्रिय खेलको मान्यता पाएका डण्डिबियो र कपर्दी अहिले लोपोन्मुख अवस्थामा छन् । गुच्चा, चम्चा–गुच्चा, खोपी, बागचाल, पानडुङ्गे, लक्कुढाल, रुमाललुकाइ, गिर, घुर्रा, भाले जुधाइ, रस्सी तान्ने, फिरफिरे, गिर, खुट्टी, गट्टा, चोर पुलिस, ठेलो, घैटो फुटाइलगायत रैथाने शारीरिक खेल लोप भएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई खेलकुदभित्र समेटेको भए पनि परम्परागत शारीरिक खेलको विकास र संरक्षणका लागि कुनै पहल नगरेको गुनासा व्यापक छन् ।

यस विषयमा तीन दशकअघि खोजी भए पनि पछिल्लो समय खेलकुद मन्त्रालयले परम्परागत खेलबारे कुनै चासो नदिएको म्याग्दीका पुराना खेलाडी गोविन्द श्रेष्ठले बताउनुभयो ।

बालबालिका मोबाइल र इन्टरनेटका क्रेजी भएका कारण बालापनका रैथाने रोमाञ्चक खेल अहिले लोप भएर गएका बेनी नगरपालिका–७ का बयोवृद्ध तथा म्याग्दी उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार माटोको भाँडाकुटी बनाउने, चिलाउने वा चरिनङ्ग्रेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री गर्ने, रुखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाइको बट्टामा धागोले जोडेर बनाएको टेलिफोनमा साथी सङ्गाति मिलेर कुराकानी गर्दै खेल्ने रोमाञ्चक खेल अहिले लोप भएर गएका छन् ।

बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायका अनुसार भमरो, मौरी, झिंगा वा गुह्ये कीरालाई सलाइको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि भदौरे कीराको पुच्छरमा डोरी बाँधेर लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन् ।

प्रविधिको विकाससँगै सहरी र ग्रामीण भेगका बच्चा अहिले शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन् ।

“हाम्रो पालामा कागजका ढुङ्गा बनाएर पानीमा चलाइन्थ्यो । हावामा कागजकै जहाज बनाएर उडाइन्थ्यो । अहिलेका बालबालिका मोबाइलमै झुम्मिन्छन् र घोप्टो परेर नानाभाँतिका घोप्टेखेल मोबाइलमै खेल्छन् । शारीरिक खेल त अब हराएर गए”, उहाँले भन्नुभयो । हुन पनि अहिले न बालबालिकाले साथी सङ्गातीहरुसँग रौसिँदै बालापनमा खेल्नु पर्दै शारीरिक खेलहरु खेल्न पाएका छन्, न यस्ता खेल खेल्न विद्यालय र अभिभावकले नै बालबालिकालाई प्रोत्साहित गर्छन् ।

अहिलेका बालबालिका फ्रिफायर, पब्जी जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यास विनाका खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको बुद्ध एकेडेमी बगरफाँटका सामाजिक विषयका शिक्षक धनवीर थापाले बताउनुभयो ।

हाम्रा रैथाने खेल वातावरणमैत्री हुनुका साथै आर्थिक हिसाबले समेत सस्तो खालका रहेका भारतीय सेनाबाट सेवा निवृत क्या।मीनबहादुर कार्कीले बताउनुभयो । शारीरिक स्फुर्ति,मनोरञ्जन र भाइचाराको सम्वन्धसमेत स्थापित गर्न सघाउपुर्याउने यस्ता खेलहरु लोप हुँदै जानुभएको जनस्वास्थ्य र राष्ट्रिय पहिचान दुवैमा घाटा पुग्नु भएको उहाँले जानकारी दिनुभयो ।

पुराना रैथाने खेलहरुमध्ये केही खेलहरु ऋतु विशेषमा खेलिने खालका छन् भने केही खेल मात्रै बाह्रै मास खेल्ने खालका रहेका पुराना खेलाडी गोविन्द श्रेष्ठको भनाइ छ । उहाँका अनुसार डण्डीबियो हिउँद महिनामा धान काटेपछि खाली भएको खेतमा खेल्ने गरिन्छ । बाघचाल बाह्रै महिना खेल्ने गरिन्छ । यसमा शारीरिकभन्दा मानसिक कसरत हुन्छ ।

युवा तथा खेलकुद मन्त्रालयले रैथाने शारीरिक खेलको संवद्र्धनका लागि कुनै पहल नगरेको गुनासो सुनिन थालेको छ । सन् १९७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनेका शरदचन्द्र शाहको कार्यकालमा नेपालको रैथाने खेलको खोजी गर्न समिति गठन भएको थियो । तत्कालीन अञ्चल सचिवले देशभरका रैथाने खेलबारे तथ्याङ्क सङ्कलन गरेका थिए । त्यसपछि कुनै पनि पहल हुन नसकेको पाइएको छ ।

तत्कालीन समयमा कुन खेललाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिन्छ रु भन्ने बारेमा पनि सुझाव माग भएको थियो । सोही अध्ययनले नेपालमा सबैभन्दा धेरै खेलिने खेल भलिबल हो भन्ने देखाएको थियो । नेपालमा खेलिने खेलमध्ये अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन सकिने खेलको सूची तयार पार्न सो अध्ययन गरिएको थियो ।

रैथाने खेलको बारेमा अध्ययन गरेर प्रतिवेदन पनि तयार पारिएको थियो तर त्यो प्रतिवेदन अहिले गुमनाम रहेको छ ।

LIVE TV