१९ श्रावण २०७९, बिहीबार
  • दान बहादुर बुढा,

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयका विद्यार्थी र शिक्षकहरुमा कोरोना संक्रमण देखिएको छ । आवासीय विद्यालयका २४ जना विद्यार्थी र २ जना शिक्षकमा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिएका हुन् ।

नेपाल राष्ट्रिय आवासीय विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । स्वास्थ्य निरीक्षक बुढाका अनुसार साउन १७ गते आठ जना विद्यार्थीहरुमा कोरोना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही क्रममा साउन १८ गते उक्त विद्यालयमा स्वास्थ्यकर्मीको टोली परिचालन १ सय २५ जना विद्यार्थी तथा शिक्षकहरुको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १९ जना विद्यार्थी र दुई जना शिक्षकमा संक्रमण देखिएको हो । योसँगै २४ जना विद्यार्थीमा कारोना देखिएको छ ।

अहिले सोही विद्यालयमा आइसोलेशन कक्षा बनाएर संक्रमित विद्यार्थी र शिक्षकलाई राखिएको छ । उनीहरुको स्वास्थ्य चेकजाँचका लागि २ जना स्वास्थ्यकर्मीको टोली खटाइएको छ । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले संक्रमित विद्यार्थी र शिक्षकहरुको हेरचाहका लागि स्वास्थ्यकर्मीको दक्ष जनशक्ति खटाइएको बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलका अनुसार कोरोना महामारीको अघिल्लो चरणमा मुगम कार्मारोङ गाँउपालिकामा २ सय ४३ जना संक्रमित फेला परेका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको थियो ।

पठन–पठन स्थगित 

कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि विद्यालयको पठन–पाठन स्थगित गरिएको छ । गाउँपालिकाले सूचना जारी गरेर साउन २५ गतेसम्मका लागि नेपाल राष्ट्रिय आवासीय विद्यालयको पठन–पाठन बन्द गरिएको जनाएको हो ।

 

LIVE TV