
काठमाडौँ । चाबहिलकाे कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमीबाट २०७८ सालको एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थीहरुमध्ये २ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । देशभरबाट ४२ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकाेमा काठमाडौँ जिल्लाबाट १० जना पर्न सफल छन् । जसमध्ये इलिक्सर एकेडेमीबाट १२औँ ब्याचका कृतिका सिवाकोटी र प्रतीक पौडेलले ४ जिपिए ल्याएका हुन् ।
४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक-एक लाखको पुरस्कार घोषणा गरेको छ । विद्यालयका प्रधानाध्याक रविन दाहालले भने, ‘विद्यार्थीहरुलाई गरिखान सक्ने बनाउनु नै विद्यालयको उद्देश्य हो । यद्यपि उनीहरुले प्राप्त गरेको सफलताको सम्मानका लागि यो पुरस्कार घोषणा गरिएको हो ।’
पुरस्कारले विद्यार्थीहरुमा मेहनत गरेपछि फल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राख्ने प्रधानाध्यपक दाहालले थप भने, ‘आउँदा वर्षहरुमा पनि विद्यार्थीहरुको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेका हौँ । आउँदा वर्षहरुमा पनि ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई एक एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’
विद्यालयका अंग्रेजी शिक्षक उमेश अधिकारीले यस नतिजालाइ उच्च सफलता माने । उनले भने, ‘यस वर्ष हामीले अभूतपूर्व सफलता प्राप्त गरेको छौँ । मलाई लाग्छ यो वर्षको एसईईमा हाम्रो विद्यालय देशभरबाट उत्कृष्ट विद्यालयमा पर्छ ।’