१३ श्रावण २०७९, शुक्रबार
  • राधा पाेखरेल
हिजो (साउन २६ गते) एउटा टेलिभिजनमा अन्तर्वार्ताका लागि धोबीखोला करिडोर हुँदै जाँदै थिएँ । राति परेको पानी सडक दायाँ-वायाँ खाल्डाखुल्डीमा जमिरहेको थियो । ठुल्ठुला खाल्डामा पानी सुकिसकेको थिएन । चावहिल बैजनी पुलबाट दाहिने तर्फ क़रीब २०० मीटर अगाडी ५० मिटर जती सड़क सप्तकोषि जस्तो जलमय छ भने देब्रे तर्फ ओम हस्पिटल भन्दा अगाडी क़रीब २०० मिटर अगाडी फोहोर व्यवस्थापन नहुँदा टनेलवाट बग्दै गएको फोहोर र ढल ब्लक हुँदा २० मिटर जती सडक जलमग्न अबस्थामा रहेको छ ।
नागरिकलाई यस्तोबेला सडकमा पैदल यात्रा कति गाह्रो र जोखिमपूर्ण हुन्छ, भनिरहनु पर्दैन । चारपाङग्रेमा हिँडौं, घण्टौं जाममा परिने । पैदल हिँडौं धुलो, धुवाँ र हिलोको सामना गर्नै नसकिने ।१० दिन देखि त्यस ठाँउका स्थानीय बासी लगाएत सडकमा आबत जाबत गर्ने नागरिकले सास्ती नै भोगिरहेका छन् । जमिन मुनी रहनु पर्ने ढल सडकमा जलमग्न हुँदा नालीबाट आएको उग्र दुर्गन्धले बिगिरएको पिनास पनि खुल्लाजस्तै भइरहेको हुन्छ ।

म अलि हतार-हतार स्कुटीमा चढेर जाँदै थिएँ । पहेलो पुल नपाउँदै विपरीत दिशाबाट हुँइकिएर आएको माइक्रोले बीच सडकको खाल्डोमा रहेको हिलो पानी मेरो शरीरभरि छ्यापेर टाप कस्यो ।

म बीच सडकमै असारे रोपाहारझैं हिलाम्मे भएँ । न रूनु, न हाँस्नु । न रिसाउनु, न बौलाउनु ? किंकर्तव्यविमूढ भएँ । स्कुटी छेउ लगाएर एकछिन भावशून्य भएर टोल्हाएँ ।

हुन त यो मेरो जीवनको पहिलो घटना थिएन । यसअघि पनि दुईचोटि यस्तै घटनाको सामना गरेकी थिएँ । पानी पर्‍यो हिलो, घाम लाग्यो धुलो काठमाण्डौंको परिचय नै हो ।

म त्यहीँबाट कुरूप अवस्थामा घर फर्किएँ । मनस्थिति पूरै बिगि्रयो । तैपनि आफूलाई सम्हालें । घरमा आएर नुहाइवरि कपडा फेरेर पुनः बाहिर निस्किएँ ।

धोबीखोला करिडोर हुँदै जाँदा दुईटा दृश्य देखेँ । जसले मन कुँडियो र उद्देलित भयो । एक ठाउँमा, हेर्दा भलादमी देखिने एकजना महाशय खोलामा बोराबाट फोहोर खन्याउँदै थिए । त्यसको करिब सय मिटर पनि पर नपुग्दै एक हुल युवा खोला किनार वरपर सडकमा सरसफाइ गर्दै थिए ।खोला च्यापेर लगाएको पर्खालबीच पानी होइन, नाली -ढल) बगिरहेको थियो । मैले अघि हिलो छ्याप्दै माइक्रो कुदाउने ड्राइभर र खोलामा फोहर फाल्ने भलादमीलाई तुलना गरें । केही फरक देखिनँ ।

अन्तर्वार्ता सकेर घर फर्किएँ । सडकको हिलो अहिले धुलोमा रूपान्तर भएको थियो । काठमाण्डौं साँच्चैको धुलमाण्डौं भएको थियो । चाबहिलबाट पुल सम्म त हेडलाइट नै बालेर हिँड्नु पर्ला जस्तो भएको थियो । मुखमा लगाएको मास्कले धुलो छेकिरहेको थिएन । चश्माले आँखाको सुरक्षा दिन सक्ने कुरै भएन । वाफ रे वाफ ! सास फेर्न र आँखा हेर्न पनि कति गाह्रो ?

संसारका ठूला शहरहरूको त्यति धेरै जानकारी राख्ने मान्छे त म होइन । तर, मेरो जानकारीमा यति उचाइमा, यति प्राकृतिक सुन्दरताले भरिपूर्ण, यति फराकिलो उपत्यका संसारमा अर्को ठाउँमा कहिँ कतै छैन होला । र, यो पनि त्यतिकै सत्य हुन सक्छ कि यतिको भऽगोल र फोहोर राजधानी संसारमा अर्को सायदै होला ।

बिगत देखि नै कपन बालुवाखानी चोकमा आएको भेल बस्तिमा पस्दा त्यहाँको नागरिक त्रासदीपूर्ण जिवन ब्यतित गर्दै छन् । ३१ करोडमा बनेको साततल्ले देखि साप्रे ढुड्गा हुँदै मानबाहादुर मार्ग सम्मको मार्गमा बर्षाषको समयमा बारम्बार त्यहाँको स्थानियको जन जिवन कष्टकर बन्दै गैरहेको छ । वारी र पारी जान सक्ने अबस्था छैन् । बारम्बार मिलनचोकमा जाने खहरे बाँट प्रभावित नागरिकले बिताएका कष्टकर जिवन हामि सामु जगजाहेरै छ । गएको एक साता अगाडि मात्र कपनको सिमलटार साथै मिलनचोकमा घर आगनमा खेलिरहेको बच्चा खहरेले बगाउँदा उक्त सब ललितपुरमा भेटिएको थियो । साततल्लेको खहरेमा मोटरसाइकलमा सबार ब्यक्ति सहित बगाएको थियो । कपनमा हरेक स्थान डुबानमा परेका छन् । घर, पसल सँगै धेरै धनजनको क्षति भएको छ ।जता हेर्‍यो, सबैतिर अन्योल र अस्पष्टता मात्रै छ ।

फोहोरी राजनीति र त्यस्मा सम्रक्षित ठेकेदारहरुको हेलचेक्राई र लापरवाहीका कारण नागरिकले यस्ता सास्ती कहिले सम्म भोग्ने ? यस सँग सम्बन्धीत स्थानीय सरकार, जनप्रतिनिधी कहाँ छन् ? यहाँबाट अमुल्य मत पाएर बिजयी भएका माननिय कहाँ छन् ?

यति सुन्दर शहरलाई कुरूप बनाउने अनि यति धनी देशलाई गरीब बनाउने मुख्य जिम्मेवार यहाँका शासकहरू हुन् भने त्यसको थोरै हिस्सा हामी जनताले पनि लिनु पर्दछ ।

सरसफाइको सन्दर्भमा एउटा सरकारी स्तरबाटै सच्याउनुपर्ने कुरा के छ भने अघि-अघि सडक विभाग सडक बनाउँदै जान्छ, पछि-पछि खानेपानी कार्यालय सडक भत्काउँदै हिँड्छ । त्यस्तै विद्युत प्राधिकरण र टेलिकम जथाभावी पोल गाड्दै हिँड्छ, अनि पोल कसले सार्ने भनेर सडक विभाग र विद्युत प्राधिकरण झगडा गरेर बस्छन् ।एकीकृत योजना बनाएर काम गर्ने हो भने एउटाले बनाउने, अर्काले भत्काउने समस्या नै आउँदैन । राज्यले बिकासको नाममा विनास गर्दैछ ।

निर्माणको काम सुस्त हुँदा शहर फोहोर र धुलाम्मे भएको हो । त्यसको प्रत्यक्ष असर जनताको स्वास्थ्यमा परिरहेको छ । दमका रोगीहरूको संख्या गुणात्मक रूपमा बढिरहेको तथ्यांक अस्पतालहरूले दिइरहेका छन् । तसर्थ, निर्माणको कामलाई अभियानात्मक रूपमा समयसीमा तोकेर चाँडो सक्न जरूरी छ ।

अन्तमा,

माननीय ज्यूँहरु कृपया तपाईँहरूको दोहोरी बन्द गर्नुहोस् । हिजो तपाईँहरूलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाएका कपनका मतदाताहरू डुबानका कारण त्रासदीपूर्ण जिवन ब्यतित गरिरहेका छन् । उनिहरुलाई बचाउनुहोस् ।

LIVE TV