९ श्रावण २०७९, सोमबार

काठमाडाैं । नेपाल मण्डलभित्र काठमाडौंमा भद्रकाली खड्ग सिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गँ, बोडेको नीलबराही, नगदेशको महाकाली, ललितपुरको हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणीलगायत नाचको १२ वर्षे जात्रा मनाइन्छ ।
सबै नाचको १२ वर्षे जात्रामा आ–आफ्नो महत्व र विषेशता छ । गोदावरी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवी नाचको १२ वर्षे जात्रा पनि भिन्नै विषेशता पाइन्छ ।

१२ वर्षे जात्रा यहीँ आउँदो साउन १० गते गथामुग चह्रे (घण्टाकर्ण चतुदर्शी) बाट विधिवत रुपमा प्रारम्भ हुँदैछ । जात्रा सुरू भएसँगै ठेचो बस्तीमा यी कुराहरु गर्न बन्देज लगाइन्छ । जस्तै : नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, घण्टा, सिठ्ठी, ताली बजाउन, बिहे, भोजभटेर, वारव्यार, वत्तमान गर्न, खुट्टा झुन्ड्याएर बस्न, राती ९ बजेदेखि बिहान ४ बजेसम्म हिडडुल र रात बसाल्ने गरी पाहुना सत्कार गर्न ।

यसरी बन्देज प्रत्येक १२ वर्षे जात्राकोक्रममा एक पटक मात्र लगान्इछ । बन्देज गरिएका कुरा बर्षभरी सबैले पालना गर्नुपर्ने नियम छ । र नवदुर्गाको धुखः नामक नाच सकेपछि मात्र फुकुवा हुन्छ । धुखः नाच फागुन÷चैततिर नचाउने चलन छ । नाच नवदुर्गा गुठीद्धारा सञ्चालन गरिन्छ । यी बन्देज लगाएको बारे बस्तीमा ‘नाय खिं’ बाजा बजाई सबैलाई सुसुचित पनि गराइन्छ । सूचना पनि टासिन्छ । गठेमंगलमा ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिन्छ । त्यसपछि राष्ट्रप्रमुखलाई नवदुर्गा गुठीयारको तर्फबाट सुपारी, दाम र भेटी चढाउछन् । अनि क्रमशः अन्य पर्वपूजाहरु सुरु हुन्छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राकोक्रममा एक पटक मात्र लगाइन्छ । अन्य बर्षहरुमा ३ सय ६५ दिन नै खुल्ला राख्ने परम्परा छ ।

जात्रामा ठेचोमा विभिन्न कुराहरु बन्देज र मन्दिरमा ताल्चा लगाउनुको तथ्य बारे प्राय अनविज्ञ छन् । देवता गुप्तबासमा दुखमा बस्ने भएकाले देश (ठेचो) मा खुसियाली मनाउन नहुने र विभिन्न शक्तिपीठहरुबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्ने भएकाले राती हिडडुल गर्न बन्देज लगाउने चलन बसेको देखिन्छ । अहिले पनि कुनै गुठीको रात्रिकालिन पूजा गर्नु परेमा बस्तीमा ९ बजेपछि हिडडुल र पसलहरु बन्द गर्न लगाउने चलन चलिआएको छ । यसबारेमा स्थानीयहरुले विरोध पनि गर्दैनन् । हिच्किदैनन् पनि । सहजै स्वीकार गर्छन् ।

नवदुर्गा नाचमा १३ वटा देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । देवगणहरुको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय श्वेत भैरव नाच लक्ष्मी पूजाको दिन नचाउदै आएको पाइन्छ ।

इन्द्रायणी देवीको नृत्य नगराउनुको कारण छुट्टै कथा छ । नवदुर्गा हिंस्रक देवीको रुपमा पुजिन्छ । किवदन्ती अनुसार इन्द्रायणी देवगण भएर नृत्य गर्ने हरेक गुठीयारको मृत्यु हुन थाल्यो । कालन्तरमा कोही पनि व्यक्ति इन्द्रायणी देवीको भेषमा नृत्य गराउन डराए । अहिलेसम्म कसैले काट गर्न सकेको छैन ।
१२ वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्छ । त्यसको लागि ६० वटा बलि आवश्यक पर्छ । कुल्पी यज्ञ, पाटन दरवार क्ष्ँेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गराइन्छ । आँग सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउनेलगायत चलन छ ।
दे भ्वएमा प्रत्येक घर एक जनालाई गुठीयारहरु देवगणको भेषमा आफ्नै सरिक भएर भोज खुवाइन्छ । भोज खुवाउनेक्रममा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी क्रमशः मासु, चिउरा, सिया बजि, क्वंय्गचा (हड्डीको परिकार), ख्येँय्, दुली, दुध, गो, साग, अडुवा र भत्तमास, जाड कालो र सेतो जस्तो परिकार राखिदिने चलन छ ।

जात्राकोक्रममा विभिन्न ठाउँमा हुने नाचमध्ये पाटन दरवार क्षेत्रमा नचाइने आर्कषणको रुपमा रहदै आएको छ । ठेचोमा नवदुर्गालाई ‘शिपद्यःचाः’ वा ‘शिभिल द्यःचाः’ नामबाट सम्बोधन गरिन्छ । शिवद्यःचाः र पाटन दरवार क्षेत्रको लिच्छवीराजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवीबीच मितको सम्बन्ध रहेको मानिन्छ ।

मनमानेश्वरी देवी भगवतीको रुपमा पुजिन्छ । सत्ययुगमा भगवतीले शिवद्यःचाको साथ लिएर असत्यमाथि विजयप्राप्त गरेको विश्वास छ । यही कारणले दरवारमा विजयादशमीको राती नवदुर्गा गणको शिवद्यःचाः (मूल देवता) र मनमानेश्वरी देवीबीच एक आपसमा तीनपल्ट ढोगभेट दर्शन गराउने चलन छ । त्यसपछि नवदुर्गा गणको तर्फबाट भैरव, काली र बाराहीले मनमानेश्वरी देवीलाई नृत्यसहित फूलमाला चढाइन्छ । मनमानेश्वरी देवी विजय भएको उपलक्ष्यमा फूलमाला चढाएर बधाई ज्ञापन गरेको गुठीयारहरुको बुझाइ छ । जसलाई नेपाल भाषामा पायो जात्रा अर्थात खड्ग जात्रा भनिन्छ ।
जुन जात्राको मुख्य आर्कषण्को रुपमा लिइन्छ ।

यो जात्रा लिच्छविहरुले पाटनमा किराँत वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिन्छ । यसरी चढाइएको फूलको पनि विषेश महत्व छ । टिकाभैरव वनबाट ल्याइने ‘खः र मूः’ नामक फूलबाट उनिने माला जनैपूािर्णमाको लागि विषेश मानिन्छ । मनमानेश्वरीलाई चढाइएको फूलको माला कुम्भेश्वरका पुजारीहरुले सुकाएर धुलो बनाइन्छ । अनि जनैपूर्णिमा कुम्भेश्वरमा मेला भर्न आउने भक्तजनहरुलाई पहेँलो, रातो कपडामा सानो पोको पारेर जनैसँगै हातमा बाँधिदिने चलन यद्यपी चलिआएको छ । नवदुर्गा देवगणहरुले तन्त्रसाधाना गरि उनेको माला यसरी हातमा बाधेमा दुःखकष्ट रोगव्याधि र भयबाट मुक्त हुने जनविश्वास छ ।

पाटन दरवारलगायत क्षेत्रमा घटस्थापनादेखि विजयादशमीसम्म पाटनको अष्टमात्रिका नाच हुन्छ । त्यसपछि ठेचोको नवदुर्गा नाच कोजाग्रत पूर्णिमासम्म हुन्छ । भने पूर्णिमाको भोलीपल्टदेखि एक महिना कात्तिक नाच सञ्चालन गर्ने परम्परा छ । पाटन दरवार क्षेत्रमा नृत्य प्रस्तुत गर्न जादा नवदुर्गा गुठीयार घरमा बास बस्न मिल्दैन । मन्दिरमै रात बिताउनुपर्ने र उपवास बस्नुपर्छ । साँझपख नाइके, द्यःबू (मूलपुजारी), पुजावारी र दवगणहरु खड्गी खलःकोमा गई महिलाबाट नङ काट्न लगाई अलः (एक प्रकारको रातो रङ) लगाउनुपर्छ । नहुाइधहुाइ गरी चाखो हुनुपर्छ ।

मन्दिरमा मध्यराती मूल देवतालाई नल्चा स्वाँ (जमरा) राखी बलीसहित पूजाआजा गरिन्छ । बिजयादशमीको दिन ठेचोस्थित मन्दिरबाट मूल देवता, मुकुन्डो, कलेवर पोशाक, गरगहना खर्पनमा बोकेर परम्परागत बाटो हुँदै झन्डै ७ किमी यात्रा गरेर लगनखेलस्थित रातो मत्स्येन्द्रनाथको आमा भनेर चिनिने डोलामाजुको मन्दिरमा पुग्छन् । उक्त मन्दिरमा देवगणहरुले मुकुट धारण गरि नगर परिक्रमा गरी पाटन दरवार क्षेत्र पुग्ने गर्छन् ।

दरवारमा अन्तमा गमन पर्व (नगर परिक्रमा) जाने चलन छ । गमन पर्वका लागि पाटन दरवार क्षेत्रस्थित दसै घरमा राखेको जमरा जता धल्कियो त्यतै नवदुर्गा गण र पाटन अष्टमाष्टिका देवगण एकै पटक नगर परिक्रममा गर्ने चलन छ । जुन परम्परा हाल बन्द छ ।

भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेँ आँगम घर स्थापना गरि खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ ।

जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरी यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरि देवता प्रतिष्ठापन गर्ने गरिन्छ ।

नेवार भित्र महर्जन, डंगोल, ताम्रकार, जोशी, प्रजापति, कर्माचार्य, उपाध्यायलगायत थुप्रो जाति छन् । नवदुर्गा नाचमा मालीबाहेक नेवारभित्रकै अन्य जाति प्रवेश निषेध छ । तर, कुल्पी यज्ञ सम्पन्न भइसकेपछि नवदुर्गा देवगण नगर परिक्रममा गरी नवदुर्गा मन्दिरसम्म ल्याउनेक्रममा सिंघिनी देवगणलाई ठेचोको महर्जन समुदायका न्हुछें गुठीका मूल थकालीले बाटो देखाएर ल्याउने चलन छ । यसरी त्यसदिन न्हुछें गुठीका थकाली पनि नवदुर्गा नाचमा सहभागी हुन अनुमति पाउनुको पछाडी छुट्टै कथा छ ।

किंवदन्तीअनुसार कुनै समयमा नवदुर्गा नाच महर्जन समुदायको न्हुछें गुठीका गुठीयारले सञ्चालन गर्दथ्यो । कथनअनुसार परापूर्वक कालमा प्रत्येक १२ वर्षे जात्रामा नरबलि दिने चलन थियो । त्यसैक्रममा न्हुछें गुठीयारले जात्रा अवलोकनमा आएका खोकनाका एकजना पुरुषलाई बली चढाएछन् । गुठीयारले पछि बली चढाएका व्यक्ति आफ्नै ज्वाई परेको थाहा पाएछन् । त्यसपछि छोरीले दिएको श्राप र माली जाति तन्त्रविद्यामा निपुन भएकाले पनि माली समुदायलाई हस्तान्तरण गरेको भन्ने विश्वास छ ।

त्यही भएर अहिले पनि १२ वर्षे जात्राको क्रममा सिहिनी देवगणलाई न्हुछें गुठीका थकालीले बाटो देखाएर ल्याउनेक्रममा आफ्नो गुठीमा प्रवेश गराउन सकेमा पुनः न्हुछें गुठीयारले नै नवदुर्गा नाच सञ्चालन गर्न पाइन्छ भन्ने किवदन्ती छ । अहिले पनि त्यही परापूर्वककालमा दिइएको बलिको कथालाई लिएर मानिसहरु १२ वर्षे जात्रामा ठेचोमा आउन डराउछन् । इतिहासको पानामा सिमित कथालाई लिएर २१ औ शताब्दीमा डर मान्नु, विश्वास गर्नु आफैमा गलत हो ।

भनिन्छ पहिला उपत्यकामा मात्र नभई नेपालका अधिकाँश मन्दिरमा नरबली दिने प्रचलन थियो । अँशुंवर्मा (सातौ शताब्दी) भन्दा पहिलाका राजा शिवदेवले चैत्र वदीको दिन वत्सला देवीलाई प्रत्येक वर्ष नरबली दिने चलन र सूर्यवंशी राजा शिवदेवले सर्वप्रथम नवदुर्गाको पूजा गर्ने चलन सुरु गरेको कुराहरु विभिन्न किताबहरुमा पढ्न पाइन्छ । किताबको पानामा सिमित कुरालाई लिएर अहिले पनि त्यस्तो चलन छ भन्नु आफैमा मुर्खता हो ।

उपत्यकाका अधिकास देवी नाच माली समुदायद्धारा सञ्चालित छन् । प्रत्येक १२ वर्षमा नचाइने काठमाडौको भद्रकाली खड्गी सिद्धि, पचली भैरव, किर्तिपुरको बाघ भैरव नाच र भक्तपुरको नवदुर्गा नाच माली जातिले चलाउदै आएका छन् । किराती अन्तिम राजा गास्तीका वंशज मानिने मालीहरुलाई नेपाल भाषामा मालाकार, वनमाली, वनमालाकार थरबाट पनि चिनिन्छ । प्राचीन कालमा यस जाति तन्त्रविद्यामा निपुग थिए ।
यस जातिको शरीरमा चाडै देवता चढ्ने र तान्त्रमा निपुन भएकाले देवता जगाउन सक्षम भएकाले मालीहरुले नाच सञ्चालन गर्दै आइरहेको भन्ने विश्वास छ । अहिले पनि ठेचो, धापाखेलमा तन्त्रविद्या जान्नेहरु थुप्रै छन् ।

नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । जसमध्ये मूल पुजारी, बाजा बजाउने चार, देवगण र पोमी (देवता समाउने व्यक्ति) ११÷११ जना, तीनजना नाइके, पुजावारी, कुमी (सामान ओसारप्रसार गर्ने) छन् । १२ वर्षे जात्रा मनाउन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले चालु आर्थिक वर्षमा ५० लाख रुपैया बिनियोजित गरेका छन् । यसले गुठीयारहरुका जात्रा सञ्चालनमा सहज भएको छ ।

तस्बिर : विकास खड्गी

LIVE TV