८ श्रावण २०७९, आईतवार

दैनिक सडकमा उभिएर
उसले पानीपुरी बेच्छ
र, साँझमा–
बजारबाट अलिकति मुस्कान किनेर श्रीमतीको ओठमा राखिदिन्छ
अलिकति भविस्य किनेर छोराछोरीको आँखामा राखिदिन्छ
अलिकति खुसी किनेर वृद्ध बाआमाको हृदयमा राखिदिन्छ ।

त्यसैले अनेक सपनाहरू किन्नलाई
उसले आफैलाई पनि पानीपुरी बनाइदिन्छ
र कचौरामा राखेर आफैले आफैलाई बेचिरहन्छ ।

मधेसका मान्छेहरू पहाडमा आएर
कोही ऊ जस्तै पानीपुरी बेच्छन्
कोही उसका साथीहरूजस्तै फलफूल बेच्छन्
कोही बोरा बोकेर रित्ता सिसि-बोत्तलहरू खोज्दै हिँड्छन्
कोही गुन्टा बोकेर गाउँघरतिर कपडाहरू बेच्दै हिँड्छन्
अफसोच् !
तिनीहरु जहाँ-जहाँ पुग्छन्
पाइलैपिच्छे अपमान सहिरहनुपर्छ ।

एकान्तमा तिनीहरुलाई सोध्यौ भने
तिमीले देख्नेछौ–
उनीहरूका छातीभित्र उभिएका
हिमालभन्दा अग्ला चोटहरूका हिमालहरू
उनीहरूका आँखाभित्र बगिरहेका समुद्रभन्दा ठूला
पीडाका समुद्रहरू …!

किन गुण्डाजस्तो छ यो पहाड ?
किन शोषकजस्तो छ ?
साला ! यस्तरी हेप्छ,
यस्तरी हेप्छ
यस्तरी हेपेर गाली गर्छ कि–
मानौँ, उनैहरूले बेचेका हुन्
यो देशका ठूल्ठूला नदीनालाहरू
यो देशका ठूल्ठूला कलकारखानाहरू
रातारात सिमानाको पिल्लर उनैहरूले सारेका हुन्
कलिला नानीहरूलाई बम्बैको वेश्यालयमा उनैहरूले बेचेका हुन्
बीचबाटोमा यात्रुहरूलाई अलपत्र बनाएर लुट्ने उनैहरू नै हुन्
स्कूलको ढोकाबाट बालबालिकाहरू अपहरण गरेर
फिरौती माग्ने उनैहरू नै हुन्
सहरका धनाद्यहरूलाई
धम्क्याउने उनैहरू नै हुन् …!

ओ, पहाड !
पहाडमात्रै हैन देश
देश मधेसमा पनि छ
यस्तरी नहेप !
यस्तरी नहेप !
चित्त दुख्छ– आगो बल्छ ।
देख्दैनौँ
किन लेख्न थालेको छ उनीहरूले–
‘मधेस सरकार’ ?

LIVE TV