८ श्रावण २०७९, आईतवार

काठमाडौं । निरञ्जन पुडासैनीले आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् ।

मुलुकमा राजनीतिक दलहरुले जनचाहनाअनुसार काम नगरेको र केवल सरकार परिवर्तनको फोहोरी खेलमात्र खेल्ने क्रमले जनता वाक्क दिक्क भइरहेको अवस्थामा आफूले उम्मेद्वारी घोषणा गरेका उनले बताएका हुन् ।

उनी भन्छन्, ‘मुलुकमा अहिलेसम्म प्रयोग भैरहेको राज्य व्यवस्थापन नीतिमा व्यापक कमजोरी रहेको ठहर जनचाहना अनुसार विकास हुन नसकेकोबाट बुझ्न सकिन्छ । विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले संसदमा प्रतिनिधित्व गर्छन् तर विडम्बना दशकौं देखि किसानले समयमा मल पनि नपाउने अवस्था छ यो देशमा । विगत देखि वर्तमान सम्मको सम्पूर्ण आर्थिक, सामाजिक तथा राजनैतिक परिपाटीको यदि समीक्षा गर्ने हो भने सहज जनजीविका र सामाजिक न्यायको अवस्था कहालिलाग्दो छ।’

देश बिग्रनुमा मुठ्ठी भरका दलका नेताको हावी हुनु प्रमुख कारण रहेको पनि उनले बताएका छन् । साथै, आजको यो प्रवृत्ति चिर्न पनि स्वतन्त्र उम्मेदवार जरुर रहेको उनको भनाइ छ ।

‘आज हाम्रो देश बिग्रनु पछाडीको मुख्य कारण दलको नाममा मुठ्ठी भरका नेताको स्वार्थ हावी हुनु हो । माथी उल्लेखित केही उदाहरणलाई मात्र हेर्ने हो भनें पनि देशको समग्र पक्षलाई संसदबाट सुधार गर्न संसदमा स्वतन्त्र सांसदको उपस्थिती आजको समयको माग हो र उनीहरुको सार्थक उपस्थिती अपरिहार्य भईसकेको छ,’ उनी भन्छन् ।

जनताबाट चुनिएर गएका सांसदहरुले सामाजिक न्यायदेखि ढल, बत्ति, पानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विकासका आधारहरुलाई व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । यस्तै, सडक पिच गरेको ६ महिना नबित्दै भत्किनु राजनीतिक नेतृत्वको कमजोरी रहेको उनले औँल्याएका छन् ।

 

LIVE TV