७ श्रावण २०७९, शनिबार
  • डा. पुष्करराज भट्ट

एउटा चौर थियो, एउटी महिला रोइरहेकी थिइन् । उनका वरिपरि केही महिला थिए । ती महिलाको आवाज चर्को हुँदै गयो ।

“नरो, नरो, ती अपराधीलाई हामी कडा कारवाही गराउँछौँ ।” एक प्रौढ महिला सम्झाइरहेकी थिइन् ।

एकछिनमा केही मानिस आए । कतिका हातमा माइक थियो भने कतिले क्यामरा लिएका थिए ।

“तपाईँ किन रोइरहनु भएको छ ?”

“हिजो साँझपख म शौच गरेर आफू रहने कोठामा आएकी थिएँ, त्यतिबेला राक्षसहरूले मलाई……?” उनी रुँदै गइन् ।

“अनि अरू मानिस कहाँ थिए त त्यतिबेला ?”

“क्वारेन्टाइनमा रहेका धेरैजसो पहिल्यै घर गइसकेका थिए, एकजना दिदी हुनुहुन्थ्यो, उहाँ पनि आज घर जानुभयो ।” उनले स्पष्टीकरण दिइन् ।

उनीहरू प्रश्न सोध्दै जान्थे, उनी उत्तर दिँदै जान्थिन् ।

– “पहिला के भयो ?”

– “अनि तपाईँले के गर्नुभयो ?”

– “त्यतिबेला किन चिच्याउनु भएन ?”

– “पहिले सहमतिपछि बदनाम गराउन खोजेको त होइन ?”

प्रश्नहरू अराजक बन्दै थिए । प्रश्नकर्ता उच्छृङ्खल भइरहेका थिए । भीडमा रहेका मानिस रोचकताका साथ यी दृश्य हेरिरहेका थिए ।

“के तमाशा गरिरहेको यो । पीडितलाई न्याय दिलाउनुको साटो उसैको इज्जतमाथि खेलवाड गर्ने ? केही अपराधीले त अपराध गरेर गइसके । अब झन् पीडितलाई नै मानसिक त्रास दिने ? उसको अस्मितामाथि खेलवाड गर्ने ?” स्थानीय एक महिलाको आवाज आयो ।

अब त्यहाँ पीडित महिला र उनका केही आफन्त मात्र बाँकी थिए ।

LIVE TV