६ श्रावण २०७९, शुक्रबार
  • कृष्णदेव रिमाल ‘शब्दसेना’

त्यतिबेला ऊ पशुपति देवपत्तनस्थित शारदा माविको कक्षा आठको विद्यार्थी थियो । गोरो र हँसमुख अनुहार र होचोहोचो कद थियो उसको । मिलनसार स्वभावका कारण छोटै समयमा थुप्रै साथीहरु पनि बनाएको थियो । उसको पूरा नाम लीलाराज भएतापनि साथीहरुले लीला मात्र भन्थे । पूर्वी पहाडको एउटा गाउँबाट हवाइजहाज चढेर राजधानीमा पढ्न आएको थियो लीला । उमेर त्यस्तै १३–१४ वर्षको हुँदो हो ।

लीलाको उमेर भनेको मनमा काउकुती लाग्ने उमेर हो । ऊ घरदेखि धेरै टाढा थियो । यही भौगोलिक दूरताले पनि उसको मनमा छुट्टै स्वतन्त्रताको आभा छाएको थियो । बाआमाको पहुँचभन्दा टाढा भएकाहरुलाई अझै धेरै काउकुती लाग्नु अस्वभाविक पनि होइन । उसैको कक्षामा एउटी परम रुपवती किशोरी थिइन् । ललिता नामकी ती किशोरीसँग लीला भित्रभित्रै नजिक भएको थियो ।

हाफटाइममा कैलाशको चउरमा भकुण्डो खेल्नु शारदाका विद्यार्थीहरुको दैनन्दिनी नै थियो । एकदिन खेलैखेलमा ललितालाई छुस्स छोइएको पनि थियो । त्यो दिनको स्पर्शले उसको हृदयमा थप रोमाञ्चद पैदा गराएको थियो । लीलालाई ललिताको नाम झन मनपथ्र्यो । हामी दुवैको नाममा डबल ल हुनु अनौठो संयोग हो । एउटा लले हाम्रो लकलाई जनाउँछ । अर्को लले हाम्रो लभलाई जनाउँछ । उसका मनमा यस्तै तर्कनाहरु आउँथे ।

मनमा टुसाउँदै गरेको प्रेमका बारेमा ललितालाई आभास भएझैँ लागेन । नत्र उसलाई पनि लीलालाईजस्तै बेचैनी हुनुपथ्र्यो । त्यस्तो त पटक्कै देखिएन । ‘के यो एकतर्फी प्रेम हो त ?’ लीला आफ्नै मनलाई सोध्ने गथ्र्यो घरीघरी । अब ऊ मित्र मण्डलीमाझ पनि कतै टाढा हराएझैँ लाग्न थाल्यो । लीलाका अन्तरङ्ग मित्रहरुले उसको मनोदशा चाल नपाउने कुरा पनि भएन । भनिन्छ नि बोलेका शब्दहरुभन्दा अनुहारले देखाउने अभिव्यक्ति भयानक हुन्छन् ।

‘ओइ लीला के भयो हँ तँलाई कुनै चरीले मन उडाई कि क्या हो ?’ आशामानले सिधै सोधिहाल्यो ।
‘ह्या… नजिस्की न आशे तँ’, यस्तो जवाफ फर्काउँदा लीलाको अनुहारमा थप लाली छाएझैँ भयो । ऊ थप लजायो । आशामानले लीलाको मनोदशा चाल पाइहाल्यो ।

‘ल भन् न त लिला ? को हो त्यो केटी ? के हो त्यस्को नाम ? उखुमै मन परेको भए त लवलेटर लेखेर दिए भैगो । बेकार किन उदास उदास बस्छस् हँ तँ ?’, आशामान निकैबेर यस्तै के–के भनेर बर्वराईरह्यो । लीलाले भने आशामानका सबै कुरा सुनेन । मन अन्तै हराएको बेला यस्तै हुन्छ । नजिकै कोही बोलेको पनि सुनिँदैन । सबै कुरा नसुने पनि उसले आशाको एउटा शब्द भने सुन्यो । हो त्यो शब्द थियो ‘लवलेटर ।’ यही शब्दले उसको मस्तिष्क झननन… गरेर रन्थनियो ।

त्यसदिन पाँचौँ घण्टी खाली थियो । नेपाली पढाउने गुरु खै किन हो आउँदिन भन्नुएको थियो । पाले दाइले बजाएको घण्टी सुनेको थियो तैपनि उसलाई कैलाशको चौरबाट कक्षाकोठामा गैहाल्न मन लागेन । ऊ सिधै आर्यघाटतिर कुद्यो । केहि शवदहन भइरहेका थिए । किंचित मन उदास बनायो त्यो दृष्यले । दैनिक देखिने भएकाले लीलाको मन उति तानेन मानवदेह जलाउने पहेंलो र कालो रङ्ग मिश्रित ती गन्धमय लप्काहरुले । तुरुन्तै नयन वागमतीको वहावमा पुगेर रोकियो । आज उसको मनमा चाञ्चल्यमय उद्वेगहरु उद्वेलित भैरहेकाले त्यो शान्त वहावसँग पनि मन रमाएन । ऊ उकालो सिँढीमा कुदेर मृगस्थलीतिर गयो ।

मान्छेलाई गोडाले होइन मनले कुदाउँदो रहेछ । फराकिलो ढुङ्गे सिँढी भएको मृगस्थलीको उकालो उसले मिनेटभरमा कुदिसकेछ । माथि मृग संरक्षण गर्न तारबार लगाएको ठाउँमा पुगेपछि बल्ल उसले सास फेर्यो । तारबारभित्र केहि मृगसावकहरु नाचिरहेका थिए। उसलाई देखेर एउटा सावक नजिकै आयो । ती बालमृगका सुन्दर आँखा लिलालाई साह्रै मन पर्न थाल्यो ।

ऊ एकोहोरो भएर हेरिरह्यो । ठीक त्यति नै बेला उसले ललितालाई सम्झ्यो । उनका अङ्गप्रत्यङ्ग मस्तिष्कमा सल्बलाउन थाले । विशेषगरी उसले आँखा सम्झ्यो । यही अगाडि देखिएको मृग सावकको जस्तै थियो उसको आँखा । मानिसहरुले सुन्दर आँखावाली युवतीहरुलाई किन मृगनयनी भन्दारहेछन् भनेर उसलाई दिव्य ज्ञान भयो ।

मानिसलाई थकाई लागेपछि सुस्ताउने होइन रहेछ । कुनै प्रिय दृष्यले तानेपछि उसका कुद्दाकुद्दैका गोडाहरु आफैं थामिने रहेछन् । यतिखेर लिलालाई यस्तै आभास भएको छ ।

‘ओइ लीला के हेरेको मृगका पाठालाई एकोहोरो हेरेको हेर्यौ छस् त ?’ पवनले झस्याङ्गै हुने गरी भनेपछि पो ऊ सजग भयो । पवन उसको सबैभन्दा मिलनसार सहपाठी थियो । भित्री मनका कुरा पनि आपसमा साटासाट गर्थे उनीहरु । आज लीलाले मनको उकुसमुकुस थेग्न सकेन । उसले पवनलाई भन्ने नै विचार गर्योा । पवनको आँखामा आँखा जुधाएर हे¥यो ।

‘भन् न भन् के हेरिराको ? तेरो मनमा के गुम्स्याएर राखेको छस् ?’ पवन अलि झोक्कियो । लीलाको मनमा उम्रेको प्रेमवृक्ष निकै फस्टाइसकेको थियो । प्रेमफल लटरम्म फलेर छाति गह्रौँ भएको थियो । मनमा बसेकै प्रेमपारखीले टिपेर खाइदेओस् भन्ने उसलाई लागेको थियो । तर, सोचिएको पात्र त्य हाँ उपलब्ध नहुनाले ऊ उदास थियो । मिल्ने साथी पवनले सोधेको हुनाले उसलाई ललिताको कुरा भनुँभनुँ लाग्यो । उनीहरु यो गहिरो प्रेमवहसमा समाहित हुन त्यतै कतै छहारीमा गफिन थाले ।

“त्यो ललितासँग मेरो वानसाइडेड भो“ उसले यतिमात्र भन्यो । लीलाको कुरा सुनेर पवन मज्जाले खित्का छाडेर हाँस्यो । अनि भन्यो, ‘यति कुरामा चिन्ता किन मेरो साथीलाई ? एउटा चिठी लेखेर दिए भैगो ।’
पवनको सुझावले लीला मुसुक्क मुस्कुरायो । सेता र मिलेका उसका दाँतहरु हेरेर पवन पनि तत्क्षण मुस्कुरायो ।

मृगस्थलीमा घुम्न निस्केका मानिसहरु विद्यालय पोशाकमा वनविहार गर्दै हिँडेका केटाकेटीलाई हेरेर अचम्म मान्थे । कतै केटा र केटी थिए कतै केटाहरु मात्र थिए । उनीहरु यात्रीका मनोविनोदका साधनजस्ता लाग्दथे ।
एकजना समाजशास्त्रका प्राध्यापक जनक भण्डारी त्यसदिन त्यतै हिँडिरहेका थिए । यी दुइजना केटाहरुको हावभाव देखेर उनले यिनीहरुलाई नजानिँदो पाराले निकैबेर अनुगमन गरे । तिनका कुराकानीहरु सुने । छोटो अध्ययनमा नै तात्कालीन परिवेशजनित सामान्य निचोडहरु पनि निकाले ।

यिनीहरु त्यस्तै सात–आठ कक्षामा पढ्ने किशोरहरु होलान् । तर यही उमेरमा यति गहिरो र तथाकथित प्रेम विरलै पाइन्छ । सायद यिनीहरुलाई चलचित्रहरुको प्रभाव परेको हुन सक्छ । कुनै हिरोले गरेको नाटकले किशोरकिशोरीमा अनौठो र गहिरो प्रभाव पार्न थालेको छ । मनोवैज्ञानिक अध्ययनविना नै निर्देशकहरुले पनि सस्तो लोकप्रियताका लागि चलचित्रमा प्रेमोन्मत्त दृष्यहरु देखाइरहेकै छन् ।

यसले निर्मातालाई अकुत आर्थिक लाभ त होला तर भोलिका देशका कर्णधार यी कलिला किशोरहरुको मनोदशा कसले बुझ्ने र खै । जनकले मनमनै भनेका कुरा यिनीहरुले सुनेझैँ लाग्यो । उनीहरुलाई जनकको उपस्थिति संकास्पद लाग्यो उठेर गुह्येश्वरीतर्फ लागे ।

बाटामा उनीहरु फेरी त्यही कुरालाई निरन्तरता दिन लागे । ‘मलाई त्यस्तो चिठी लेख्न आउँदैन ।’ लीलाले पवनसँग सहयोगको अपेक्षा राख्यो । पवनले प्रेमिल नयनले लीलालाई हेरेर सुस्तरी आँखा झिम्क्यायो । त्योदिन विशेष सल्लाह गरेर गोप्य ढङ्गले दुनियाँको प्रथम प्रेमपत्र लेखियो । गोप्य हुलाकीको खोजी गरियो । दुबैजनाको मस्तिष्कमा अनेकौँ बैकल्पिक पात्रहरुका नाम सल्बलाए ।

विश्वासको संकट भएकोले पवन स्वयं पत्रवाहक बनेर ललितासमक्ष पुग्ने सल्लाह भयो । ठूलो कापीको बीचबाट दुइ पाना फुत्त निकालेर जानेसम्मका मीठा शब्द चयन गरेर लेखिएको त्यो पत्र लिएर पवन ललितालाई पच्छ्याउन थाल्यो । निकै दिनपछि ललितालाई उसले त्यो पत्र थमाउन सक्यो । लीला भने टाढैबाट पवनले चिठी दिएको हेरिरहेको थियो । सकारातमक जवाफको पर्खाईमा बेचैन लीला आँखा नझिम्क्याएर उतै हेरिरहेको थियो । उनीहरु बीच के कुरा भयो त्यो सुनिएको थिएन । पवनको कुरा सुनिसकेपछि ललिताको मुहार केही फरक देखियो । शायद उसमा प्रेमपुष्पित हुँदैछ होला भन्ने सोच्यो लीलाले ।

चिठी खाममा राखिएको थिएन । पानामा लेखेर चार फोल्ड पट्याएर मात्र लगिएको थियो । ललिताले एक फोल्ड खोली । त्यो फोल्ड पनि खाली थियो । कलम झिकी र त्यहाँ केही लेख्न थाली । लीलालाई ती अक्षरहरु के होलान् भन्ने उत्कण्ठा जाग्रित भयो । व्यग्रताका साथ पवनलाई पर्खीरह्यो ।

बर्षौँजस्तो अनुभव भएको तर चौथाइ घण्टा पनि पूरा भएको थिएन । फरक मुहार लिएर पवन आइपुग्यो । लीला हतारिएर अलि नजिक पुग्यो र उसकी मनपरेकी मायालुको तर्फबाट आएको जवाफ सुन्न उद्वेलित भयो । पवनले उसले दिएको पत्र नै फिर्ता ल्याएको रहेछ ।

‘तत्काल कापी नभएर उसले त्यही पत्रको पछाडि प्रतिउत्तर लेखी होला’ लिलाले मनमनै विचार गर्यो ऊ हतपताएर फोल्डहरु खोल्न थाल्यो । एक फोल्ड खोल्ने वितिक्कै लीला सगरमाथाबाट केचनाकलनमा पुगेको अनुभव गर्यो् । उसलाई भनन्न रिँगाटा लाग्यो । त्यहिँ ढल्न खोज्यो ।

पवनले च्यप्प समातेर मात्र ऊ लडेन । उसले वरपरका रुखहरु देखेन । एकछिनपछि फेरि त्यहि कागजमा आँखा जोतेर हेर्यो । त्यहाँ साँच्चै उही रिँगाटा चलाउने वनसाँङ्गलाजत्रा अक्षरहरु जिउँदा जाग्दा भएर सल्बलाइरहेका थिए, ‘खबरदार !’

LIVE TV