६ श्रावण २०७९, शुक्रबार

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नंको माइक्रो विङ्गर एकआपसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५-३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LIVE TV