५ श्रावण २०७९, बिहीबार

काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नवनियुक्त राजदूतहरुसंग छलफल गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सुरक्षाका बिषयमा चासो ब्यक्त गरेका छन् ।

बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अर्फिकाका राजदूत दान बहादुर तामाङसंगको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरुले पाउने गरेका दुख, समस्याका बिषयमा चासो ब्यक्त गरेका हुन् ।

उनले दुबै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका बिषयमा बिशेष ध्यान दिन आग्रह समेत गरे।‘यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन् । पठाउने ब्यक्ति वा कम्पनीले उनिहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरु आइरहन्छन, यसबारे बिषेश ध्यान दिन म आग्रह गर्न चाहन्छु,’ मन्त्री कुँवरले भने।

छलफलका क्रममा उनले कामदारलाई परेको समस्या समाधानका लागि दुतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए। उनले विदेशमा नेपाली कामदारहरुको हुने गरेको मृत्युका बिषयमा समेत गम्भिर भएर बुझ्नका लागि पनि मन्त्री कुँवरले राजदुतहरुसंग आग्रह गरे।

छलफलमा बोल्दै मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा कोमामा, र अंगभंग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भिर रहेको र दुतावासहरुले सोहिअनुसार काम गर्नुपर्ने बताए। उनका अनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरु कोमामा उपचार्राथ छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक बर्षमा मात्रै सबैभन्दा बढि साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरु रोजगारका लागि गएको बताए। साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभएपनि विभिन्न माध्यमहरुबाट नेपालीहरु साउदी जाने संख्या ठुलो रहेको छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका उपसचिव एवम् रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारहरुमा वैधानिकिकरण, स्वास्थ्य, विमा, दोहोरो सम्झौता, प्रमाणिकरण, अवैधानिक रुपमा गएका कामदारको शव उद्धार, महिला कामदारको सुरक्षा र न्युनतम् पारिश्रमिक समेत नपाउने लगायतका समस्याहरु रहेको उल्लेख गरे।

छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए। अवैधानिक रुपमा कामदारहरु जाँदा विभिन्न जटिलताहरु रहेकाले दुबै सरकारबीच श्रम सम्झौता भएकोखण्डमा त्यो न्युनिकरण हुँदै जाने उनको भनाई छ । साउदीमा समस्यामा परेका कामदारहरुको उद्धार र राहातका लागि पहल गर्ने समेत उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । कामदारले पाउने गरेका समस्याहरुको समाधानका लागि मन्त्रालयसंग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उनले बताए ।

यस्तै दक्षिण अर्फिकाका लागि नयनियुक्त राजदूत तामाङले दक्षिण अर्फिकामा नेपाली कामदारहरु समस्यामा परेका खबरहरु खासै नआएपनि कामदारहरुका बिषयमा आफु सचेत रहेको बताए। उनले दक्षिण अर्फिकासंगै केन्या, तान्जेनिया, साउथ अर्फिकामा जेल र अस्पतालमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्ने समेत बताए ।

LIVE TV