३ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको विषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौँ । पर्सीसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताए । उनले आफूहरु गठबन्धन लिएर लाने पनि बताए । उनले भने, ‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुराम जीको ।’

अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको पनि अध्यक्ष दाहालले बताए ।

 

LIVE TV