३२ असार २०७९, शनिबार
  • अनिल तिवारी,

वीरगन्ज । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भएको दुईदिन नवित्दै पार्टीबाट ६९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले हैकमवादी चरित्र देखाएको भन्दै दुइ केन्द्रीयसहित ६९ जना पदाधिकारीले पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा अधिकांश पदाधिकारीहरु पर्सा क्षेत्र नम्बर ४ का रहेका छन् । शनिबार विहान वीरगन्जमा पत्रकार सम्मेलन गरी जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्यागको घोषणापछि मुख्यमन्त्री लालबाबु राउत आफ्नै गाउपालिका जगरनाथपुरमा एक्लिएका छन् । हालै सम्पन्न भएको स्थानीय निकायको चुनावमा मुख्यमन्त्रीले जन्मथलोबाट श्रीमतिलाई पार्टीको तर्फबाट उपाध्यक्षमा उम्मेदावर बनाएका कारण कार्यकर्तामा ठूलो अन्तरबिरोध सुरु भएको थियो ।

केन्द्रीय सदस्य विरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नं. ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक राम बहादुर पाख्रिनलगायतकाले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टीमा बढेको स्वच्छचारिताका कारण एकलौटी ढंगबाट पुराना कार्यकर्ताहरुलाई पाखा लगाउने कार्य भएको भन्दै बिद्रोह सुरु भएको उनीहरुको भनाइ थियो । पार्टीमा नीति, नियम र नेतृत्व प्रष्ट नभएको र संगठनात्मक संरचनाको आधारमा कार्यविभाजन भन्दापनि ब्यक्ति, ठेकेदार र भ्रष्टाचारी हाबी भएकोले पार्टी परित्याग गर्नुपरेको उनीहरुको आरोप छ ।

 

LIVE TV