३२ असार २०७९, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच दिल्लीमा भेटवार्ता भएको छ ।

शुक्रबार भारत भ्रमणमा दिल्ली पुगेका प्रचण्डसँगै त्यहाँ स्थिति नेपाली राजदूतावासमा गएरात्रि रात्रिभोजमा आरजू देउवा पनि सहभागी थिइन् । केही दिनअघि उपचारका लागि भन्दै दिल्ली पुगेकी देउवा र प्रचण्डबीच आज शनिबार बिहान पुनः भेटवार्ता भएको जनाइएको छ । उक्त भेटमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्डपुत्री गंगा दाहाल समेत उपस्थित थिए ।

३ दिने भ्रमणका लागि दिल्ली पुगेका प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग भेट्ने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने/नहुनेबारे भने खुलाइएकाे छैन ।

दिल्लीमा प्रचण्ड र आरजूबीचको उक्त भेटबारे एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टिप्पणी गरेका छन् । उक्त भेट सत्ता बाँडफाँडको भद्दा मजाक रहेको उनको भनाइ छ । आफ्नो फेसबुकमा रिजालले लेखेका छन्, ‘प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस भेटघाटले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमै भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ । २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको थियो ।’

LIVE TV