३२ असार २०७९, शनिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै वाईसीएलले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

नेकपा एमालेको अर्थ विभागमा बसेर राष्ट्र बैंक चलाइरहेको भन्दै गभर्नर अधिकारीमाथि प्रश्न उठिरहेको बेला वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर कारबाही गर्न माग गरेको हो । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारीमाथि तत्काल एक्सन लिन र छानबिन गर्न माग गरेको हो ।

वाइसीएलको प्रतिनिधि टोलीले पू्रधानमन्त्रीसँगको भेटमा गभर्नर अधिकारी एमालेमा रहेर राष्ट्र बैंक चलाइरहेको र उनको शैक्षिक योग्यतासमेत नक्कली भएको आरोप लगाउँदै बर्खास्त गर्न माग गरेको छ ।

सो क्रममा प्रधानमन्त्री देउवाले कानुनविदसँग परामर्श गरेर गभर्नरबारे निर्णय लिने बताएका थिए । गभर्नर अधिकारीबारे बाहिर आइरहेका कुरा गम्भीर भएको भन्दै प्रधानमन्त्री देउवाले बुझेर मात्र आवश्यक कदम चाल्ने आश्वासन दिएको भेटमा सहभागी माओवादीका केन्द्रीय सदस्य सुबोध सेर्पालीले जानकारी दिए ।

यसैगरी, वाइसीएलले ज्ञापन–पत्रमार्फत संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन र आर्थिक संकट तथा विदेशी मुद्रा सञ्चिती घटिरहेको अवस्थामा प्रहरीका लागि हतियार खरिद गर्ने निर्णय तुरुन्त रोक्न पनि ध्यानाकर्षण गराएको छ । साथै, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन र सामुदायिक विद्यालयका विद्यार्थीलाई चाँडो पाठ्यपुस्तक उपलब्ध गराउन समेत माग गरेको छ ।

LIVE TV