३१ असार २०७९, शुक्रबार

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल सकिएलगत्तै स्वीकृत भएकाे हाे । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिनुभयो ।

कसले के भने ?

पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताउनुभयो । नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जयकुमार राईले आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार खोजी गरिरहँदा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्त गर्ने विषयलाई नागरिकको अधिकारका रुपमा लिइनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणप्रसाद मरासिनीले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृृतिक दृष्टिले नागरिकता पाउने विधेयकको बाटो सकारात्मक भएको बताउनुभयो । उहाँले सहजरुपमा नागरिकता प्राप्त गर्ने विषयमा सरकारले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद शिवकुमार मण्डलले सरकारले विधेयक ल्याएसँगै नागरिकताबाट वञ्चित नागरिकलाई राहत मिलेको छ भन्नुभयो । बिनाकारण नागरिकताबाट वञ्चित गराइएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिने विषयमा पनि सरकारले सोच्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद वीनाकुमारी श्रेष्ठले नागरिकताजस्तो आधारभूत अधिकार प्राप्त गर्न नसकिएको अवस्थामा नागरिकमा सामाजिक र मनोवैज्ञानिक असर परेको छ भन्नुभयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि विधेयकमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै उहाँले विधेयकले लैङ्गिकरुपमा विभेद गरेको बताउनुभयो । सांसद पूर्णकुमारी सुवेदीले गैरनागरिकलाई नागरिकता दिन नहुने र नेपाली नागरिक गैरनागरिक हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । “राज्यले नागरिकलाई नागरिकताको हकबाट वञ्चित गराउन हुँदैन”, उहाँले भन्नुभयो ।

सांसद सञ्जयकुमार गौतमले नागरिकता विधेयक ल्याएर सरकारले गैरनागरिक बनेका नागरिकलाई राहत दिएको बताउनुभयो । सांसद सरलाकुमारी यादवले कुनै पनि नेपाली नगारिक देशविहीन बन्नु नपरोस् भन्ने उद्देश्यले वर्तमान सरकारले यसअघि दर्ता गरेको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको बताउनुभयो । सांसद प्रमिला राईले कुनै पनि नेपाली नागरिकले नागरिकता नपाएर भौतारिन नपरोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । आमा वा बुबाको नामबाट सन्तानले नागरिकता पाउने प्रावधान संविधानमा उल्लेख भए पनि बुबाको पहिचानबिना नागरिकता नपाउने समस्या देखिएकाले नेपाली आमाले जन्माएको सन्तानले स्वतः नागरिकता पाउन सक्नेमा प्रष्ट पार्न आग्रह गर्नुभयो ।

सांसद पवित्रा निरौला खरेलले नागरिकता विधेयक नआउँदा नेपालीका छोराछोरी शिक्षा, रोजगारीलगायत अधिकारबाट वञ्चित भएका छन् भन्नुभयो । उहाँले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय विधेयकमा राखिनु सकारात्मक भएको बताउनुभयो । सांसद बिन्दा पाण्डेले यो विधेयक संविधान उल्लेखित नागरिकताको प्रावधानसँग मेल नखाएको तथा विधेयक समानताको हकविपरीत रहेको गुनासो गर्नुभयो । उहाँले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधानमा पारस्परिक समानताको प्रचलन र लैङ्गिक समानताको पक्षमा मुलुकको हितलाई शिरमा राखेर विधेयक पारित गर्न आग्रह गर्नुभयो ।

LIVE TV