२९ असार २०७९, बुधबार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गभर्नर अधिकारी माथि कटाक्ष गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए ।

थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकाशिएको मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यवसायीक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताए ।

उनले शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२ को नीति ल्याइएपनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको दाबी गरे । सांसद थापाले राष्ट्र बैंकले जे सोचेको भएपनि अपेक्षा गरेको परिणाम नआएपछि अब त्यो नीति खारेज गर्नुपर्ने र खारेज नभए लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा पुग्ने बताए ।

उनले यो सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई नभएको बताए ।

उनले भने, ‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव चुलिँदो व्यापार घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यबृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ । परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको पैसा सिस्टमा ल्याउने कुरा र केही व्यवसायीक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आट मौद्रिक नीतिले गर्नुपर्छ । शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२को नीति ल्याइयो । यसले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भयो ।’

उनले थपे, ‘राष्ट्र बैंकले जे सोचेको भएपनि अपेक्षा गरेको परिमाण नआएपछि अब यसलाई परिमार्जन गर्नुपर्छ । यसलाई खारेज गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आइपुग्छन् । मैले गरेको सबै अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

LIVE TV