२८ असार २०७९, मंगलवार
  • मुस्कान श्रेष्ठ,

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले चुरे क्षेत्रको संरक्षण नगरे मधेश मरुभूमिमा परिणत हुने बताएका छन् । क्रियाशील युवा पत्रकार मञ्च नेपालले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री यादवले क्षनिक स्वार्थका लागि केही माफियाहरुले काठ तस्करी गर्ने गरको र चुरे दोहन गरी मधेशलाई मरुभूमि बनाउन लागिपरेकाले त्यस्तालाई कानूनी दायरामा ल्याइने बताएका छन् ।

उनले राजनीतिक संरक्षणमा बिना लाइसेन्सको क्रसर उद्योगहरु धमाधम सञ्चालन भइरहेकोमा चिन्ता ब्यक्त गर्दै यसरी अबैध रुपमा सञ्चालनमा आएका क्रसर उद्योगलाई चाडो भन्दा चाडो बन्द गराउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले आफ्नो मन्त्रालय सम्बन्धि कार्यहरुको अध्ययन गर्दा दर्जनौं विकास निर्माणका कामहरु वन मन्त्रालयकै अस्पष्ट नीति तथा नियमका कारण अवरुद्ध भएको पाइएकोले आगामी दिनमा बिकासको काममा वन मन्त्रालयको सहयोग रहने बताए ।

मन्त्री यादवले वन जंगलको कारण देखाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य नरोकिने बताएका छन् । वातावरणको संरक्षण गर्दै निजगढ विमानस्थल बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विज्ञहरुका अनुसार श्रावण देखि भाद्र महिनासम्ममा वृक्षारोपण गरे मात्र त्यसले सार्थक पाउने भएकोले आगामी आर्थिक वर्षको श्रावण महिनामा एक करोड वृक्षारोपण गर्ने अभियान संचालन गर्ने बताए । एक फरक प्रसङ्गमा उनले नागरिकता विधेयक असार मसान्तसम्ममा पारित हुने बताएका छन् ।

यसैगरी वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंहले पत्रकार राष्ट्रको चौथो अंग रहेकोले सत्य तथ्यको आधारमा सामाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले आफूहरु गलत बाटोमा लाग्दा सचेत गराउनु पत्रकारको दायित्व भएता पनि केही पत्रकारले आफूहरुले राम्रो काम गर्दा समेत भ्रामक समाचार लेखेर जनतालाई दिग्भ्रमित पारेको आरोप लगाए ।

क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न भएको मञ्चका उपाध्यक्ष आन्नद पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्य उषा चौधरी, मञ्चका सल्लाहकार मनोज उपाध्याय, शिवशंकर साह, प्रताप श्रेष्ठ, जसपाका युवा नेता मुकेश दुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वन मन्त्री प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरिएको थियो ।

LIVE TV